जनगणनाबारे भ्रामक सूचना फैलाउदै इस्लामि संघ नेपाल, मातृभाषा उर्दु लेख्न बाध्य पार्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 10, 2021 | 10:39:39 AM मा प्रकाशित

laxmi  sunrise bank

गैर सरकारी संस्था (एनजिओ)को रुपमा दर्ता भई नेपालमा काम गरिरहेको इस्लामि संघ नेपालले राष्ट्रिय जनगणना २०७८ बारे भ्रामक प्रचार प्रसार गरेको पाईएको छ। भाषाको विषयमा आम नागरिकलाई भ्रम पर्ने गरि सामाग्री प्रचार प्रसार गरेको हो। 

इस्लामि संघको प्रचार प्रसारले जनगणनाको नतिजा नै प्रभावित हुने देखिन्छ। इस्लामि संघ नेपालले जनगणनामा आफ्नो धर्म, जातजाति, मातृभाषा, पुर्खाको भाषा , दोस्रो भाषामा के लेख्ने भन्ने विषयको सामग्री नेपाली तथा उर्दु भाषामा आफ्नो वेबसाइट तथा फेसबुक पेज मार्फत प्रचार प्रसार गरिरहेको छ । तर उसको सामग्री भने त्रुटीपूर्ण रहेको छ । 

इस्लामि संघ नेपालले धर्ममा इस्लाम र जातजातिमा मुसलमान लेख आग्रह गरेको छ । तर एउटै परिवारका केही सदस्यले फरक फरक धर्म मान्ने गरेको हुन सक्छ। प्रत्येक व्यक्तिलाई प्रश्न सोधिने भएकोले एउटै परिवारमा पनि भिन्न भिन्न धर्म मान्ने व्यक्ति सँगै बसोबास गरेको हुन सक्दछन् भन्ने तथ्यलाई इस्लामिक संघ नेपालले वेवास्ता गरेको छ ।

भाषाको विषयमा उसको सामग्री झन् त्रुटीपूर्ण र भ्रामक रहेको छ। उसले मातृभाषा उर्दु नै लेख्न आग्रह गरेको छ। मातृभाषा उर्दु हुन सक्छ तर उर्दु नै हुनु पर्छ भन्ने नभएको जानकारहरु बताउँछन्।

सामान्यतया आमाले बोल्ने भाषा अर्थात घरमा बोलिने भाषालाई मातृभाषा भन्ने गरिन्छ। र नेपालमा तराई पहाड र हिमाल सबैठाउँमा मुस्लिम समुदायको बसोबास रहदै आएको छ र त्यहाँ उनीहरुले घरमा बोल्ने अर्थात उनीहरुको मातृभाषा फरक फरक भएको पाइन्छ। मुस्लिम समुदायको ठुलो सङ्ख्या रहेको तराईमा समेत हिन्दि, उर्दु, भोजपुरी, मैथिली, लगायतका मातृभाषा बोल्ने गरिन्छ भने पहाडमा मियाँ भाषा बोल्नेको बाहुल्यता छ। त्यस्तै काठमाण्डौ उपत्यकामा नेवारी भाषा मातृ भाषा रहेका मुस्लिम समुदायहरु रहेका छन्। 

तर यी सबै कुरालाई बिर्सिएर इस्लामिक संघ नेपाल जो आफुलाई नेपालका मुस्लिमहरुको लागि पहिलो, ठुलो र नेतृत्त्वदायी संस्था मान्छ, उसले मातृ भाषा भनेको उर्दु मात्रै हो भन्नेगरि प्रचार प्रसार गरिनु गम्भीर बिषय हो।  

जनगणना कार्यक्रम संचालन गरिरहेको केन्द्रिय तथ्यांक विभागले मातृभाषा के हो भन्ने प्रष्ट रुपमा खुलाएको छ। विभागको परिभाषा अनुसार 'जन्मे पछि बालबालिकाले सबभन्दा पहिला बोल्न जानेको भाषालाई मातृभाषा भनिन्छ । मातृभाषा व्यक्तिको पहिलो भाषा हो । घरपरिवार भित्र आमा, बुवा, हजुरआमा, हजुरबुवा, परिवारका अन्य सदस्य, स्याहार सुसार गर्ने व्यक्तिबाट बालबालिकाले पहिलो बोल्न जानेको भाषा नै मातृभाषा हो। मातृभाषा हुनको लागि व्यक्तिले हाल बोल्न जानेकै हुनु पर्दछ।'

तर इस्लामि संघ नेपालले भने सबै मुस्लिम नागरिकलाई मातृभाषा उर्दु नै लेख्न आग्रह गरेको छ । जन्मे पछि बालबालिकाले सबभन्दा पहिला बोल्न जानेको भाषा नै मातृभाषा हो र मातृभाषा हुनको लागि व्यक्तिले हाल बोल्न जानेकै हुनु पर्दछ भन्ने तथ्यलाई इस्लामिक संघ नेपालले वेवास्ता गरेको छ । मातृभाषा हुनको लागि व्यक्तिले बोल्न जानेकै हुनु पर्दछ र आफूले बोल्न नजानेको भाषालाई मातृभाषामा उल्लेख गर्नु हुदैन भन्ने तथ्यलाई पनि इस्लामिक संघ नेपालले वेवास्ता गरेको छ ।

त्यस्तै पुर्खाको भाषाको विषयमा पनि इस्लामिक संघ नेपालको प्रचार सामग्री त्रुटीपूर्ण रहेको छ  । इस्लामिक संघ नेपालले पुर्खाको भाषामा समेत उर्दु लेखेको थियो तर चौतर्फी बिरोधपछि उसले पुर्खाको भाषा उर्दु मात्रै लेखेको कुरालाई सच्याएर नेपाली/उर्दु/मैथली/भोजपुरी/मियाँभाषा/अवधि/ बंगाली आदि राख्न आग्रह गरेको हो। 

विभागको परिभाषा अनुसार  'कुनै व्यक्तिको आफ्नो परिवार, समुदाय वा जातजातिमा परम्परागत रूपमा बोलिने गरेको पहिचानको भाषालाई पुर्खाको भाषा वा पुर्ख्यौली भाषा भन्ने गरिन्छ। जिजुबाजे/बोजु, बाजे/बोजु वा हजुरबा/हजुरआमा कुन भाषा बोल्नुहुन्थ्यो सोही भाषा पूर्खाको भाषा हुनजान्छ। पुर्खाको भाषा हाल बोल्न जानेको पनि वा नजानेको पनि हुन सक्दछ। '

उदाहरणको लागि मेरो हजुरबा हजुरआमाले नेवारी भाषा बोल्नुहुन्छ तर मलाई नेवारी बोल्न आउंदैन तर हाल म नेपाली बोल्छु भने मेरो पुर्ख्यौली भाषा नेवारी हो । तर इस्लामिक संघ नेपालले भने यो तथ्यलाई पनि वेवास्ता गरेको छ ।

दोस्रो भाषाको विषयमा पनि इस्लामिक संघले गलत प्रचार गरेको छ । उसले घरमा बोलिने भाषालाई दोस्रो भाषाको रुपमा लेख आग्रह गरेको छ । तर विभागको परिभाषा अनुसार ' मातृभाषा बोल्न जानी सके पछि बक्ताले बोल्न सिकेको अर्को भाषा दोश्रो भाषा हो। अर्थात् कुनै व्यक्तिले आफ्नो छिमेकी, समुदाय, कामकाजको क्रममा वा अरुसँग बोलचाल गर्दा सम्पर्क भाषाको रुपमा मातृभाषा बाहेक धेरैजसो बोल्ने भाषा नै दोस्रो भाषा हो। कुनै व्यक्तिले जानेको तर छिमेकी, कामकाजको क्रममा वा अरुसँग धेरैजसो बोलचालमा प्रयोग नभएको भाषालाई दोस्रो भाषाको रुपमा लेख्न हुँदैन। व्यक्तिले दोश्रो भाषाको रूपमा सबभन्दा बढी बोल्ने गरेको भाषालाई दोस्रो भाषामा लेख्नुपर्दछ ।' 

प्रत्येक व्यक्तिको दोश्रो भाषा नहुन सक्दछ। जस्तैः नेपाली मातृभाषा बोल्ने व्यक्तिले नेपाली बाहेक अरु भाषा बोल्दैन भने दोश्रो भाषाको महलमा ड्यास (-) लेख्नु पर्दछ । यो तथ्यलाई भने इस्लामिक संघ नेपालले वेवास्ता गरेको छ । 

इस्लामिक संघ नेपालले गरेको गलत प्रचारको केहि मुस्लिम नागरिकले विरोध समेत गरेका छन् । जाकि एहमद अन्सारी लेख्छन् 'मातृभाषा उर्दु किन नि? मेरो मातृभाषा त भोजपुरी हो । सम्पूर्ण मुस्लिमहरूको धर्म ईस्लाम र जाति मुसलमान लेखाउने काम एकरूपता तथा एकीकृत रूपमा तथ्याङ्क नतीजा निकाल्ने उद्देश्यको लागि अति सराहनीय एवं अपरिहार्य छ । तर मातृभाषा फरक लेखाउन गरिएको आह्वान एवं अपीलको उद्देश्य बुझ्न सकिएन । कृपया यसको विस्तृत कारण सार्वजनिक गर्न विनम्रतापूर्वक अनुरोध गर्दछु ! '

त्यस्तै आबिद हुसैन लेख्छन् 'बिगत केही दिन देखि हुदै गरेको जनगणनालाई लक्षित गरि विभिन्न इस्लामिक संघसंस्थाले सचेतना अभियान अन्तर्गत मातृभाषा 'उर्दु' लेखाउनु भनेर भ्रम सिर्जना गर्दै छन् । यो सरासर गलत हो।मुस्लिम हुने बितिक्कै उर्दु नै बोलेको हुनुपर्छ भन्ने पूर्वाग्रह राख्नु कट्टर र संकीर्ण सोचको उपज हो। आफ्नो मातृभाषा जे छ त्यही लेखाउनु होस्।'

ताजिम एहमद लेख्छन् 'यो सरासर झुट हो, नत हाम्रो मातृभाषा नै उर्दु छ नत पुर्खा को भाषा नै उर्दु छ,  हो वरु हाम्रो पढाइ लेखाइ को भाषा उर्दू हो भन्दा सहि हुने थियो।'

आर्थिक पत्रकार मोहम्मद अज्मत अलि भन्छन्, "इस्लामिक संघ नेपालले जनगणनालाई लिएर गरेको प्रचार प्रसार अत्यन्त चिन्ताजनक बिषय हो, नेपालका मुस्लिम समुदायको मातृ भाषा उर्दु हो भनेर उसले नेपालमा उर्दु भाषालाई मुस्लिम समुदायको भाषा स्थापित गर्न चाहन्छ, जुन सरासर गलत हो। म स्याङ्गजामा बस्ने मुस्लिम, मेरो मातृ भाषा मियाँ भाषा हो जसलाई चुरौटे भाषा समेत भन्ने गरिन्छ। र मेरो पुर्खाको भाषा पनि मियाँ भाषा नै हो र मेरो दोस्रो भाषा नेपाली हो जुन राष्ट्रिय भाषा हो।" 

उनी अगाडी थप्छन्, "हो इस्लामिक धर्मका शिक्षाका लागि दक्षिण एसियामा उर्दु भाषाको अनिवार्यता जस्तै छ, प्राथनाको क्रममा अरेबिक भाषाको उच्चारण भएपनि त्यसको अर्थ बुझ्नका लागि र प्राथनासँग जोडिएका क्रियाकलापहरु उर्दुमा हुनेगरेका छन्, यो नेपाल लगायत दक्षिण एसियाका मुस्लिम समुदायहरुले इस्लामिक शिक्षाको लागि उर्दुमा भर पर्दाको परिणाम हो, तर विस्तारै मातृभाषामा पनि प्राथनासँग जोडिएका क्रियाकलापहरु हुन थालेका छन्, इस्लाम धर्मको शिक्षा बुझ्नका लागि अरेबिक भाषा अनिवार्य हुन्छ। " 

के भन्छ इस्लामिक संघ नेपाल ?

इस्लामिक संघ नेपालका अध्यक्ष खुर्सिद आलमले भने नेपालका मुस्लिम समुदायहरुको मातृ भाषा उर्दु हुनुपर्ने दाबि गरेका छन्। आफुहरुको भेटघाटको भाषा, घरमा बोल्ने भाषा, प्राथानाको क्रममा बोल्ने भाषा उर्दु भएकाले यसको प्रवर्दन गर्नु भर्ने भएकाले आफुहरुले मातृ भाषामा उर्दु भाषा लेखेर त्यहिअनुसार गर्न गराउन प्रचार प्रसार गरेको अध्यक्ष आलम बताउँछन्। 

मदर्शामा पढ्ने बेला, धार्मिक प्रशिक्षणको बेला, शुक्रबार पढिने जुमामा र खुत्बामा, कुरानको तर्जुमा गर्दा लगायतका काम गर्दा पनि उर्दु भाषाको नै प्रयोग बढी हुने गरेकाले नेपालका मुस्लिम समुदायको मातृ भाषा उर्दु हो र हुनुपर्छ भनेर प्रचार प्रसार गरिएको उनी बताउँछन्। 

उनी भन्छन्, "मातृ भाषा उर्दु हुँदा मदर्शामा पढाउने शिक्षक उर्दु भाषाको पाइने, सरकारी बिद्यालयमा पनि उर्दुको पढाई हुँदा उर्दुका शिक्षकले रोजगारी पाउने, र उर्दु भाषासँग मुस्लिमहरुको संस्कार पनि जोडिएकाले उर्दु भाषालाई मुख्य प्राथमिकतामा राखेर मातृ भाषा हो र मातृ भाषा लेख्नुपर्छ भनेर प्रचार प्रसार गरेका हौँ। तर कसैले उर्दु बाहेकको भाषालाई मातृभाषा लेख्न चाहन्छ भने उसले त्यो लेख्न सक्छ। "

इस्लामिक संघ नेपालले उर्दु भाषालाई प्रवर्दन, प्रचार प्रसार गर्छ भन्दा गलत नहोला भन्ने प्रश्नमा अध्यक्ष आलमले उर्दु भाषा आफ्नो भाषा भएकाले यसको प्रवर्दन, प्रचार प्रसार किन नगर्ने भन्ने जवाफ दिएका छन्। 

यसरी गरिएको प्रचार प्रसारबाट भ्रम फैलियो भयो भन्ने आशंकामा उनले भने, "नेपालका सबै बुद्दीजीवि, र मुस्लिम समुदायसँग सरोकार राख्नेहरुसँगको छलफल पश्चात नै हामीले उर्दु भाषालाई मातृ भाषा बनाउने निर्णय भएको हो।"

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved