ठगीको आरोपमा गत असोज १८ गते पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ बिरुद्द अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले तामाङसहित ४३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो। तामाङविरुद्ध ८ वर्ष कैद सजाय र बिगो बापत ५ अर्ब ५९ करोड रुपैयाँ जरिवाना मागदाबी गरिएको छ।
तामाङलाई गत असोज १८ गते प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको थियो। एउटा ऋणीको रुपमा मात्र नभई सहकारी ऐनले कसुर गरेको मानिने क्रियाकलाप गरेकाले तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिईएको हो। उनी विरुद्द बिभिन्न ६ वटा आरोपहरु लागेका छन्।
६ वटा आरोपहरुमा केन्द्रित अनुसन्धान
- बचतकर्ताको करौडौं बचत र त्यसबापत आउने ब्याज फिर्ता नभएको
- संकलन भएको निक्षेप सहकारी ऐनको प्रतिकुल हुनेगरी आफ्नै लगानीका कम्पनीमा बिना धितो कर्जा लिएको,
- लिएको कर्जाको सावाँ, ब्याज फिर्ता नभएको,
- सहकारीको बचत कर्जाको रुपमा आफ्ना लगानी भएका कम्पनीमा लगेर त्यसको दुरुपयोग भएको,
- सहकारीबाट कर्जा लिएर लगानी गरिएका कम्पनीबाट भएको आम्दानीको दुरुपयोग भएको,
- कर्जा अपचलन र सम्पति शुद्दिकरण हुने काम भएको
तामाङ लगायत १२ जनाविरुद्द लागेका यी आरोपहरु प्रमाणित भएको अवस्थामा सबैलाई संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही हुनेछ। मुलुकी फौजदारी अपराध संहिता अनुसार ठगी कसुर पुष्टि भए अभियोगीलाई सात वर्षसम्म कैद, जरिवाना र बिगो असुल गरिने प्रावधान छ। तर, संगठित अपराधमा भने ठगी कसुरको डेढ गुणा सजाय हुने प्रावधान छ।