लकडाउन कै झल्को दिने गरि जारी भयो १६ बुँदे आदेश, के के गर्न बन्देज ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 04:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कोभिड, रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गरेका छन् । आज पुस २७ गते राति १२ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी भएको हो । 

आदेश अनुसार उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी राजनीतिक दलका भेला र मेला महोत्सव गर्न रोक लगाइएको छ ।  यदि यस्ता कार्यक्रम गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने छ । सीडीओहरुको बैठकले माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय पनि गरेको छ।

बैठकले जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउने तालिका तत्काल बनाउन पनि आदेश दिने निर्णय गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा भनिएको छ 'कोभिड-१९ को बढदो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसि) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन,२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८/०९/२७ गते राती १२:०० बजे देखि अर्को सूचना नभएसम्म लागू हुने गरी देहायको आदेश जारी गरिएको छ।'

यस्तो छ आदेश: 

१. कोभिड-१९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सवैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्वन्धी मापदण्डको अनिवार्य पालना गर्ने, गराउने।

२. राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरु संचालन गर्दा मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र गर्ने, गराउने।

३. सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्ने, नगराउने। अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गरी, गराई गर्ने व्यवस्था मिलाउने।

४. २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने।

५. सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गते देखि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्ने।

६. यही माघ ७ गते देखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने।

७. जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरुमा निशुल्क एन्टिजेन टेस्ट बुथहरु स्थापना गर्ने र नियमित परिक्षण गर्ने, गराउने।

८. जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई अनिवार्य रुपमा १ हप्ताभित्र कोभिड विरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्ने, गराउने।

९. कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम २०७८ पौष २७ देखि २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्ने, नगराउने र पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाई व्यवस्था गरी संचालन गर्ने। 

१०. सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरु (जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तिय संस्था आदि) मा भिडभाड नहुने उपयुक्त तरिका सम्बन्धित कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रवन्ध मिलाउने।

११. जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा संचालन गरेका कोभिड-१९ उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गरी संचालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने।

१२. अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड-१९ को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरु यथाशिघ्र सम्बन्धित अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने।

१३. सार्वजनिक सवारी साधनहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने।

१४. औषधी लगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने, उपर कानून बमोजिम कारवाही गरिने ।

१५. कोभिड-१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्क (Contact Tracing) मा परेका व्यक्तिहरुले नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन, भिडभाडबाट बच्न तथा बचाउन सतर्क रही स्वास्थ्य मापदण्डको प्रभावकारी पालना गर्ने, गराउने।

१६. औद्योगिक तथा व्यवसायिक संस्था, फर्म तथा पसलहरुले स्वास्थ्य मापदण्ड पालना गरी, गराई औद्योगिक तथा व्यवसायिक गतिविधि संचालन गर्ने।

१७. कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट जोगिन उपयुक्त स्वास्थ्य सतर्कता अपनाउने र जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालन गर्ने, गराउने सम्बन्धित सूचना प्रकासन तथा प्रसारणका लागि जिल्लास्थित सबै स्थानीय तह, संचार माध्यमहरुलाई विशेष अनुरोध गर्ने।

१८. कोभिड-१९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित तथा आकस्मिक अनुगमन गरिनेछ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा संक्रमक रोग ऐन, २०२० अनुसार कारवाही हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved