सातामा २ दिन सार्वजनिक विदाको निर्णय आजबाट कार्यन्वयनमा, नेप्से र राष्ट्र बैंकले गरे नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2022 | 08:26:53 AM मा प्रकाशित

laxmi bank ntc

आज जेठ १ गतेबाट शनिवार र आइतबार गरेर सातामा दुई दिन सार्वजनिक विदाको अभ्यास सुरु भएको छ । नेपाल सरकारले परीक्षणको रुपमा संवत् २०७९ साल जेठ १ गते देखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने गरी गरेको निर्णय गरेको थियो। आइतबार पनि सार्वजनिक विदा दिने नेपाल सरकारको निर्णय राजपत्रमा प्रकाशन भईसकेको छ। २ दिन सार्वजनिक विदा दिने बारे सरकारको विभिन्न ४ निर्णय गरेको छ । 


यस्ता छन् सार्वजनिक विदाबारे सरकारको ४ निर्णय : 

(क) प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने,

(ख) सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ५.३० बजेसम्म निर्धारण गर्ने, तर कात्तिक १६ गते देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९.३० बजे देखि अपरान्ह ४.३० बजेसम्म रहने ।

(ग) संवत् २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने,

(घ) खण्ड (ग) बमोजिमका कार्यालयमा सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरी सम्बन्धित निकायले कर्मचारीको व्यवस्थापन गर्ने ।


नेप्सेमा शुक्रबार पनि पनि कारोबार 

२ दिन सार्वजनिक विदा भएपछि जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने छ ।  नेप्से सञ्चालक समितिको २०७९/०१/२१ गतेको बैठकले नेपाल सरकारको निर्णयानुसार नै कार्यालय समय संचालन गर्ने र जेठ महिनादेखि सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने निर्णय गरेको हो।

नेप्सेले गत आइतबार सम्पूर्ण ब्रोकरहरुलाई सोमबारदेखि शुक्रबारसम्म शेयर कारोबार संचालन गर्ने ब्यबस्था गर्न निर्देशन दिएको छ । नेप्सेले ब्रोकरहरुलाई पठाएको पत्रमा भनिएको छ 'उपरोक्त सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९ बैशाख २३ मा बसेको बैठकले २०७९ जेठ १ गते देखि लागु हुने गरी बिहान ९:३० बजे देखि साँझ ५:३० बजे सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हुदाँ सोहि अनुरुप सोमबार देखि शुक्रबार सम्म धितोपत्रको कारोबार गर्ने व्यवस्था मिलाउन नेप्से सञ्चालक समितिको मिति २०७९/०१/२१ गतेको निर्णयानुसार अनुरोध छ ।' नेप्से यसबारे लगानीकर्ता र सम्पूर्ण सरोकारवालालाई समेत सुचना मार्फत जानकारी गराएको छ ।


राष्ट्र बैंकले पनि गर्यो नयाँ ब्यबस्था 

सातामा दुई दिन सार्वजनिक विदाबारे  नेपाल राष्ट्र बैंकले पनि विभिन्न आधा दर्जन नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकका गभर्नरद्वारा बैशाख २८ गते स्वीकृत टिप्पणी अनुसार २०७९ साल जेठ १ देखि लागू गर्ने गरी शनिबार र आइतबार सार्वजनिक विदा दिने सम्बन्धमा राष्ट्र बैंकले विभिन्न निर्णय गरेको हो ।

राष्ट्र बैंकको जनशक्ति ब्यबस्थापन विभागले राष्ट्र बैंकका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय, र इकाईहरुलाई नयाँ ब्यबस्थाबारे जानकारी गराएको छ ।

के के छन् नयाँ ब्यबस्था ? 

 १. वि.सं. २०७९ साल जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक विदा दिने ।

२. सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने, तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कायम रहने।

३. वि.सं. २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा समेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने RTGS सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैकिङ्ग सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्ने । उक्त सेवा सञ्चालनमा सहयोग गर्न सूचना प्रविधि विभागले आवश्यक परेमा आवश्यकताअनुसार कर्मचारी खटाउने ।

४. बैंकिङ्ग कारोवार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९:३० बजेदेखि साँझ ४:०० बजेसम्म कायम गर्ने तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बैंकिङ्ग कारोवार समय बिहान ९:३० बजेदेखि अपरान्ह ३:३० बजेसम्म कायम रहने।

५. शुक्रबारको लागि पनि बैंकको निर्धारित कार्यालय पोशाक कायम गर्ने ।

६. विभाग/कार्यालय/महाशाखा/इकाईले प्रत्यक्ष सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने एकै सेवाको लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्ने ।

७. हप्ताको २ दिन विदा हुँदा हप्ताभरि सम्पन्न गरिएका कार्यहरुको सूची/ दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङ्कनका लागि अभिलेख गरी राख्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved