संसदमा गगनले उठाए सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको विषय, छानविन गर्न सभामुखको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2022 | 02:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्  । 

शुक्रवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफुलाई वलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए । लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

सरकारलाई निर्देशन दिदैँ सभामुख सापकोटाले भने – ‘माननीय सदस्यहरु, माननीय सदस्यले आफ्नो भनाई राख्दैगर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसा सम्बन्धि विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानविन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।’

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्ष अगाडी वलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरेका थिए । उनले वलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुर्नविचार गर्नुपर्ने बताए ।

उनले भने – ‘सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरी श्रीमती र दुईवटा साना–साना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्ष अगाडी आफुलाई वलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन् । त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु । त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुख मार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसके पछाडी तत्कालै जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्ति हार्दिक आग्रह गर्न चाहान्छु । र यही संसदबाट बनाएको वलात्कार सम्बन्धी कानून हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयको सम्बन्धमा पुर्नविचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई हार्दिक अनुरोध गर्न चाहान्छु ।’

एक युवतीले केही दिन अघि सामाजिक सञ्जालमार्फत् आफुलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट वलात्कार भएको घटना सार्वजनिक गरेकी थिईन् । उनले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाएकी थिईन् । उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved