काठमाडौँ महानगरको कार्यपालिका बैठकले गर्यो यस्ता निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 10:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिन भित्रमा यान्त्रिक कुचो (ब्रुमर) सञ्चालनमा ल्याइने बताएका छन् । प्रमुख साहको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुको प्रश्नको जवाफ दिँदै उनले बु्रमर छिट्टै सञ्चालनमा ल्याइने जानकारी दिएका हुन् ।

चालकको करार अवधि सकिएकाले ब्रुमर दुई महिनादेखि सञ्चालनमा आउन सकेको थिएन । उक्त समस्या समाधान गरेर पुनः सञ्चालनमा ल्याइने उनले बताए ।

नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरुले सिधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्ने प्रमुख साहले बताए । विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने उनले बताउनुभयो । बैठकका प्रस्तावमाथि छलफल गर्ने क्रममा प्रमुख साहले महानगर आफैँभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताए । समन्वय कायम गरेरै अहिले देखिएका समस्या क्रमशः समाधान हुँदै जाने उनले बताए । साहले भने , “साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ ।”

उपप्रमुख सुनिता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको बताईन् । साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने उनको भनाइ छ । बैठकले नगरसभाको ११औँ अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति गठन गरेको छ ।

बैठकमा प्रमुख साहले पेस गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन भएको छ । सुशासन समितिमा वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी, वित्त समितिमा वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोल, सामाजिक समितिमा वडा नं १० का अध्यक्ष रामकुमार केसी र पूर्वाधार समितिमा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजाल रहनुभएको छ । वातावरण समितिमा वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन, भवन व्यवस्था समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, सम्पदा तथा पर्यटन समितिमा वडा नं ८ का अध्यक्ष आशामान सङ्गत र सूचना प्रविधि समितिमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर छन् ।

यस्तै, शिक्षा र स्वास्थ्य समितिमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, विधायन समितिमा वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन, राजश्व समितिमा वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र विपद् व्यवस्थापन समितिमा वडा नं ३ का अध्यक्ष प्रेम थापा संयोजक रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved