
शुक्रबार थाइल्यान्डबाट नेपाल आएका एक यात्रुले सुटकेसको ह्यान्डल नै सुनको बनाएर ल्याएको पाइएको छ ।
नेपाल एयरलाइन्सको जहाजमार्फत नेपाल आएका राकेश तुलाधरलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ ।
तुलाधरले ल्याएको सुटकेसलाई भन्सार अधिकृतले चेकजाँच गर्ने क्रममा सुटकेस उचाल्न प्रयोग हुने ह्यान्डलमा शंकास्पद धातु रहेको पाइएपछि सुटकेस च्यातेर हेर्दा करिव ५ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको सुन फेला परेको हो । उक्त सुनको कुल तौल २६७.४ ग्राम रहेको बताइएको छ ।
घटनामा तुलाधर मात्र संलग्न छन् या अन्यको पनि संलग्नता रहेको छ भन्ने विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।