भट्टको पछि लाग्दा शर्माको हरिबिजोग, 'ह्या केही हुन्न' भन्दै बालुवाटारबाट फर्केपछि खेल खत्तम

ईश्वर अर्याल/बिजपाटी

ईश्वर अर्याल/बिजपाटी

Jul 07, 2022 | 01:22:55 PM मा प्रकाशित

laxmi  sunrise bank

न कुनै राजनीतिक दलको सदस्यता, न त कुनै सार्वजनिक पद । प्रधानमन्त्रीनिवास बालुवाटारदेखि राज्यसत्ताको समानान्तर संयन्त्र मानिने अख्तियार र सर्वोच्च अदालतसम्म उत्तिकै पहुँच भएका दीपक भट्ट यतिबेला चर्चामा छन्, कारण हो गत जेठ १५ गते सार्वजनिक भएको बजेटमा अर्थमन्त्री जनार्दन शर्मामार्फत उनले गरेको हस्तक्षेप । 

जहाँ पैसा छ, त्यहाँ टुप्लुक्क आइपुग्ने भट्ट पैसा कमाउन र राज्यसत्तामा पहुँच कायम राख्नकै लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बिस्तारासम्म पुग्ने हैसियत राख्छन् । नेपालको जलविद्युतमा लगानी गर्ने अधिकांश विदेशी कम्पनीका स्थानीय एजेन्ट भट्ट नै हुन् । सुडान घोटालादेखि लिएर बुढीगण्डकी हत्याउने कुकर्ममा समेत भट्टकै हात देखिन्छ । 

एजेन्ट बनेर ठूला आयोजना हत्याउने भट्ट त्यसपछि आयोजना अलपत्र पारेर लागत बढाउने खेलोमा लाग्ने गर्छन् । प्रमुख दलका शीर्ष नेताहरूसँगको सम्बन्धकै कारण मन्त्रिपरिषद बैठकका कतिपय निर्णयहरूमा समेत उनको प्रभाव देखिन्छ । आफू सधैं माथि परेर राज्यसत्तालाई कमजोर बनाउँदै अकूत सम्पत्ति कमाउने मामिलामा भट्ट सधैं अगाडि देखिन्छन् । 

भट्टनिवासमा मन्त्रीहरूको घुईचो 

बजेट निर्माणका क्रममा भट्टको सानेपास्थित निवासको पार्किङ सधैं मन्त्री र उच्च पदस्थ कर्मचारीका गाडीहरूले भरिने गर्दथे । यो क्रम अहिलेसम्म पनि जारी छ । एक स्थानीयका अनुसार विवादमा परेका अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मासहित सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर र राज्यमन्त्री उमेश श्रेष्ठ भट्ट निवासबाट राति अबेर निस्कने गर्दथे । यो क्रम बजेट निर्माणताका झनै बढेको थियो । 

भट्ट निवासमा मन्त्रीहरू मात्र होइन, एकाध पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'समेत पुगेका छन् । त्यस्तै विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतप्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरू पनि भट्टनिवासलाई 'तीर्थ' सम्झने गर्छन् । 

भट्ट निवासमा केही सातादेखि अर्थमन्त्री जनार्दन शर्मा,सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका राज्यमन्त्री उमेश श्रेष्ठ नियमितजसो पुग्ने गरेका थिए । आगामी आर्थिक वर्षको बजेट तर्जुमाको अवधिदेखि नै ती मन्त्रीहरु भट्ट निवास छिर्ने क्रम बढेको हो ।

संसदबाट बजेट पारित भएपछि त्यो क्रम झन् बढेको स्रोतको दाबी छ । प्रायः मन्त्रीहरु राति आउनुहुन्छ, अबेर राति फर्कनुहुन्छ,' भट्टको निवास नजिकैकका एक जना स्थानीयले भने ।

भारतीय नागरिकले गरे शर्मालाई ब्रिफिङ

बजेट निर्माणका क्रममा भट्टले तत्कालीन अर्थमन्त्री शर्मासँग इन्फिनिटी होल्डिङ्गका फाइनान्सियल डाइरेक्टरलाई भेट गराइदिएका थिए । बजेटमा राजश्वको दर हेरफेर गरेर अकूत सम्पत्ति कमाउन सकिन्छ भनेर ती डाइरेक्टरले शर्मालाई जेठ १३ गते २ घण्टा भन्दा बढी ब्रिफिङ गरेको स्रोतको दाबी छ । 

बजेटसम्बन्धी निकै कम ज्ञान भएका शर्मालाई राजश्वको दर हेरफेर गरेर सीमित व्यवसायीलाई फाइदा गराउने र अन्यको बिचल्ली पार्ने काममा थप सहयोग गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा र राज्यमन्त्री उमेश श्रेष्ठले समेत साथ दिएका थिए । 

गत साल भदौमा प्रतिस्थापन विधेयक ल्याएर साहिल अग्रवाल र विष्णु न्यौपानेलगायतका केही व्यवसायीलाई फाइदा दिलाएका शर्मालाई प्रयोग गरेर प्रधानमन्त्री पुत्र जयवीरले स्यानिटरी प्याडमा अकूत पैसा कमाउने योजना बुन्न थालेका थिए । 

यसका लागि प्रधानमन्त्री पत्नी आरजु देउवाले शर्मालाई बुढानीलकण्ठ नै बोलाएर शर्मामाथि उर्दी जारी गरिन् । जे जसरी हुन्छ, स्यानिटरी प्याड आयात गर्दा कर छुट दिने व्यवस्था गर्नैपर्ने बाध्यतामा परेका शर्माले आफ्ना पुराना साथीसमेत रहेका भट्टसँग परामर्श लिए । 

जगदम्बा नेक्सस 

बजेट सार्वजनिक हुनुभन्दा केही दिनअघि जगदम्बा इन्टरप्राइजेजका मालिक अनिल रुंगटा, उनका दाइ र अन्य केही व्यापारी तीनकुनेस्थित न्यौपाने टावरमा बसेर 'बजेटमा यो यो प्रावधान समेट्नुपर्छ' भन्दै टिपोट गर्न थाले । रुंगटा नेपाली कांग्रेसका तर्फबाट संविधान सभाका सदस्य रहिसकेका व्यापारी हुन् । 

उक्त टिपोट दीपक भट्टसमक्ष रुंगटाले नै पुर्याए । सानेपास्थित निवासमै पुगेर रुंगटाले उक्त टिपोट थमाएपछि भट्टले भने, 'ल तपाईंहरूको काम हुन्छ ।' बजेटका लागि टिपोट संकलन गर्ने काम गरेका भट्टले त्यही दिन शर्मालाई फोन गरेर आफ्नो निवास आउन भने । शर्मा मन्त्रालयको काम सकेर साँझ ७ बजेतिर सानेपा पुगे । 

त्यहाँ भट्टसँगै अर्का व्यापारी विनोद चौधरीका अति निकट मानिने अर्का व्यापारीसँगै सहिल अग्रवाल त्यहीं थिए । शर्मालाई टिपोट हातमा थमाइयो । त्यसपछि शर्माले भने, 'हेरौं कति गर्न सकिन्छ अब ।' 

स्रोतको दाबीअनुसार शर्माले केहीबेर टिपोट हेरेजस्तो गरे, तर बुझेनछन् क्यारे । टिपोट लामो थियो । भट्ट बसेको नजिकैको सोफामा शर्मा गए र केहीबेर भलाकुसारी गरे । अनि उनीहरूबीच बजेट सार्वजनिक हुनुभन्दा अगाडि कुनै विषयविज्ञ मार्फत् उक्त टिपोटलाई 'इन्जेक्ट' गर्ने सहमति बन्यो । 

९ बजेतिर शर्मा भट्टनिवासबाट बाहिरिए र सिधै नजिकै रहेको उमेश श्रेष्ठनिवास पसे । त्यहाँ पहिल्यै देखि श्रेष्ठले शर्मालाई कुरिरहेका थिए । उनीहरूबीच थप २ घण्टा छलफल भएपछि शर्मा पुल्चोकस्थित आफ्नो क्वार्टरमा फर्किएको स्रोतको दाबी छ । 

सुरक्षित ठाउँ खोज्दै बालुवाटार पुगेका थिए शर्मा, देउवाले फर्काइदिए 

बजेट निर्माणको अघिल्लो दिन करीब ८ बजे शर्माले दुई अनाधिकृत व्यक्तिलाई लिएर प्रधानमन्त्रीनिवास बालुवाटार पुगे । प्रधानमन्त्री पत्नी आरजु राणासँग बालुवाटारमै भेट गर्ने र त्यसपछि देउवासँग ती व्यक्तिलाई परिचय गराउने उद्देश्यका साथ शर्मा भारतीय नागरिक उपेन्द्र हेरावत र पूर्व नासु रघुनाथ घिमिरेलाई लिएर शर्मा बालुवाटार पुगेका थिए । भारतीय नागरिक हेरावत सीएसमेत रहेको स्रोतको दाबी छ । 

बालुवाटारमा आरजुसँग केही बेर भलाकुसारी गरेका शर्मा त्यसपछि आरजुसँगै प्रधानमन्त्री देउवा बस्ने कक्षमा पुगे । शर्माले केहीबेर बजेटबारे देउवालाई ब्रिफिङ गर्दा ती दुई 'अनाधिकृत' व्यक्ति बाहिर लबीमा कुरिरहेका थिए । देउवाले उनीहरूलाई खासै भाउ दिएनन् र भने, 'म व्यस्त छु । जोसुकै विज्ञलाई लगाएर भएपनि काम सक्नुस ।'

शर्मा बालुवाटारमै बसेर काम गर्न चाहन्थे । तर देउवाले बालुवाटारमा भीड हुने भएकाले अन्त कतै गएर काम सक्न निर्देशन दिएपछि शर्माले मन्त्रालय नै रोजेका थिए । त्यसपछि ती दुई 'अनाधिकृत' व्यक्ति एउटा गाडीमा फर्के भने शर्मा झण्डा हल्लाउँदै अर्को गाडीमा फर्के । यतिसम्म कि ती दुई व्यक्तिसँग सिंहदरबार छिर्न पास पनि थिएन । पछिपछि आएको शर्माको गाडीबाट सुरक्षाकर्मी ओर्लेर ती दुई व्यक्ति शर्माकै मान्छे भएकाले छोडिदिन आग्रह गर्नुपरेको थियो । यतिन्जेलसम्म १० बजिसकेको थियो । 

ती दुई व्यक्ति शर्मासँगै अर्थमन्त्रीको कार्यकक्ष छिरेनन् । दुवैजनालाई एकजना सल्लाहकारको कोठामा भित्र चुकुल लगाएर बस्न भनियो । शर्माले त्यसपछि आफ्नो डायरीमा भएको टिपोट हेर्न थाले र केही बेरमा भारतीय नागरिकलाई फोन गरेर कार्यकक्षमा बोलाए । मन्त्रालय सुनसान थियो, बजेट निर्माणको प्रक्रियामा रहेको टीम भने अर्को कार्यकक्षमा व्यस्त थियो । 

करीब १२ बजे शर्माले सचिव मधुकुमार मरासिनी, सचिव कृष्णहरि पुष्कर, सहसचिव चक्रबहादुर बुढा,  अर्का सहसचिव भूपाल बराललाई आफ्नो कार्यकक्षमा बोलाए । भारतीय नागरिक कार्यकक्षमै थिए । सबै आएपछि शर्माले पूर्व नासु घिमिरेलाई फोन गरे । घिमिरे आएपछि परिचय भयो । बजेट निर्माणको टीमसँगै बसेर ती दुई अनाधिकृत व्यक्तिले बजेटमाथि अर्थमन्त्रीको विज्ञ बनेर राजश्वका दरहरू हेरफेर गरे । सचिव मरासिनी र अन्य कर्मचारीबीच यसो गाइंगुईं चलेको भएपनि प्रश्न भने कसैले उठाएन । 

यसरी भट्ट र चौधरीको प्रतिनिधि बनेर बजेटका प्रावधानमाथि चीरहरण गरियो । त्यसैको सजायँ शर्माले राजीनामा मार्फत भोग्नुपरेको छ, सँगै उत्साह लिएर सिंहदरबार छिरेका शर्मा बदनामीपूर्ण ढंगबाट बाहिरिनुपरेको छ । त्यो दिन सबै देखेर पनि चुप रहेका अन्य कर्मचारीहरू छानबिन समितिको परिबन्धमा पर्ने निश्चित छ ।

सचिव मरासिनीलाई थाहै नदिई सीसीटीभी फुटेज डिलेट 

अर्थसचिव मधु मरासिनी बुधवार अनिश्चितकालका लागि विदा लिएर हिँडे । मुख्यसचिव शंकरदास बैरागीसँग विदा लिनुअघि उनले शर्मालाई भेटेनन् । शर्मासँग उनको एउटै गुनासो थियो, आफूलाई नसोधी सीसीटीभी फूटेज डिलेट गर्न लगाउनु । 

बजेटबारे संसदमा कुरा उठेपछि उपभोक्ता संरक्षण हीतका तर्फबाट सूचनाको हक प्रयोग गर्दै बजेट वक्तव्यको अघिल्लो दिनको सीसीटीभी फूटेज माग गरिएको थियो । फूटेजकै कारण आफू फँस्ने चाल पाएका शर्माले फूटेज डिलेट गर्न लगाउनुअघि सचिवसँग सल्लाह गरेनन् । जब फूटेज डिलेट भएको भन्दै विज्ञप्ति जारी गरियो, त्यतिबेलै देखि मरासिनी शर्मासँग रुष्ट भएका थिए । 

यो केसमा आफू पनि फँस्ने निश्चित देखेपछि शर्मा फोन अफ गरेर बुधवारबाट विदामा बसे भने राजश्व सचिव कृष्णहरि पुस्कर अष्ट्रिया भ्रमणमा लागे । सचिवद्वयबाट नै सहयोग नदेखेपछि शर्माले राजीनामाको विकल्प रोजेका हुन् । बुधवार अपराह्न करीब साढे १२ बजे शर्माले आफूनिकट केही कानून व्यवसायीसँग परामर्शसमेत गरेका थिए । तर कसैले पनि उनको पक्षमा स्ट्याण्ड लिएनन् । 

सूचना लीक भएपछिको रहस्यमयी मौनता !

भोलिपल्ट बजेट भाषण गरियो । त्यसपछि कतिपय व्यापारिक घरानाका व्याक्तिले आफ्नै घरमा सीमित व्यक्ति बोलाएर 'सक्सेस पार्टी'समेत गरे । १५ दिनको छलफलपछि संघीय संसदबाट बजेट पास भयो । तर बजेट निर्माणको प्रक्रियामा जति पनि स्वार्थ समूह हाबी भएका थिए त्यसको सूचना अर्को पक्षलाई जानु स्वाभाविक थियो । बजेटलाई प्रभावित पार्न सक्रिय हुने व्यापारी/व्यवसायी इतरको अर्को पक्ष यो सूचना लीक गर्ने उपयुक्त समयको खोजीमा लाग्यो । 

बुधवार राजीनामा दिएर निजी स्कोरपियोमा आफ्नो निवास लागेका शर्माले आफूनिकट नेता कार्यकर्तालाई आफूमाथि मिडिया ट्रायल भएको बताएका थिए । स्रोतको हवाला दिँदै जनआस्थाले समाचार लेखेको छ, 'एउटा हाउसले धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष नियुक्त गर्न मान्छे नै बोकेर आएको थियो । अर्को हाउसले ९ करोड रुपैयाँ कर मिनाहाको निम्ति ताकेता गरेको थियो ।' 

बजेट निर्माणका क्रममा मध्यरातमा अनाधिकृत व्यक्तिको प्रवेशबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको शीर्ष नेतृत्वलाई पनि पहिल्यै जानकारी थियो । तर सञ्चारमाध्यमबाट लीक नहुन्जेल एमालेका नेताहरू रहस्यमयी ढंगबाट चुप बसेका थिए । 

अनि भट्ट भए गायब 

राजीनामा दिइसकेपछि शर्मा भट्टसँग कुरा गर्न चाहेका थिए । तर भट्टको मोबाइल अफ थियो । बुधवार दिनभरि भट्ट शर्माको सम्पर्कमा आएनन् । तर साहिल अग्रवाल र विष्णु न्यौपाने भने शर्माकै निवासमा पुगेर सान्त्वना दिएको स्रोतको दाबी छ । 

भट्टले शर्मालाई मात्र बिलखबन्दमा पारेका होइनन्, यसअघिका अर्थमन्त्रीलाई पनि प्रभावमा लिएर भट्टले आफूअनुकूल निर्णय गर्न लगाउँथे । यसपालि भने जनार्दन आफ्नै कार्यशैलीका कारण नराम्ररी फँसेका हुन् । 'ह्या के होला र ? कसले के गर्ला र ? भन्ने मन्त्रीज्यूको स्वाभावका कारण यो पटक नराम्ररी फँस्न पुगियो,' शर्मानिकट एक कार्यकर्ताले भने ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved