
राष्ट्रपति विद्यादेवी भण्डारीले
सरकार गठनका लागि दिएको समयसीमा सकिनै लाग्दा सत्ता गठबन्धनमा रहेका दलहरूको छलफल
र भेटघाट बाक्लिएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल चलिरहेको छ
।
गठबन्धनको बैठक रोकेर देउवा, प्रचण्ड र नेपाल त्रिपक्षीय छलफलमा सामेल भएका
हुन् । यसअघि देउवा र प्रचण्डबीच वान टू वान वार्ता भएको थियो ।
बालुवाटार स्रोतका अनुसार पहिलो २
वर्ष प्रधानमन्त्री बन्न पाउनुपर्ने भन्दै प्रचण्ड आफ्नो अडानबाट ब्याक भएका छैनन्
। उनले देउवालाई यदि पहिलो कार्यकाल आफू प्रधानमन्त्री बन्न नपाए गठबन्धन छोडेर
प्रतिपक्षी बन्ने चेतावनी दिएका छन् ।
'अहिलेको गठबन्धन चुनावअघि कै
निरन्तरता भएकाले आलोपालोको सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बन्नुपर्छ,' माओवादी केन्द्रका एक नेताले भने, 'त्यसो भएन
भने हामी प्रतिपक्षी बन्छौं ।'
देउवाले भने राष्ट्रपति र
प्रधानमन्त्री छोड्न नसकिने अडान राखेका छन् । देउवाका तर्फबाट आइतवार बिहान
प्रचण्डनिवास खुमलटार पुगेका विमलेन्द्र निधिले प्रचण्डलाई देउवाको अडानबारे
सुनाएका थिए ।
खुमलटारमा बसेको बैठकमा पनि दुई
नेताबीच सहमति हुन सकेको छैन । यद्यपी पहिलो २ वर्ष र त्यसपछिको दुई वर्ष कांग्रेस
र माओवादीले प्रधानमन्त्री लिने र अन्तिम १ वर्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री
बनाउने भद्र सहमति भने गठबन्धनमा रहेको स्रोतहरूले दाबी गरेका छन् ।
अहिलेसम्म पहिलो कार्यकाल को
प्रधानमन्त्री बन्ने भन्नेमै छलफल चलिरहेको छ । साँझ ५ बजेसम्म कुनै सहमति नभए
संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको संसदीय दलको नेता
प्रधानमन्त्री हुने प्रकृया अघि बढ्नेछ ।
त्यसो भएमा देउवा नै प्रधानमन्त्री
बन्नेछन् । तर तीस दिनभित्र उनले विश्वासको मत लिनुपर्ने छ ।