बाइक पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम लागू भए के हुन्छ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 01, 2023 | 05:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

पटकपटक असफल हुँदै आएको मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने नियमबारे फेरि एकपटक बहस सुरु भएको छ । २५ वर्ष अगाडिदेखि बहस र छलफल भए पनि केही दिन लागू भएर छाडिने गरिएको यस प्रावधानबारे उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मङ्गलबारबाट पुनः बहस चलाएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० मा उल्लेख भएको ‘दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोपी (हेल्मेट) लगाउनुपर्छ’ भन्ने प्रावधान कार्यान्वयन गराउने छलफल हुनासाथ आलोचना हुने गरेको छ । 

२०६५ सालमै पनि यतायात व्यवस्था विभागले दुई पाङ्ग्रे सवारी चलाउने र सो सवारीमा बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने प्रावधान कार्यान्वयन गर्न खोजेको थियो । तर, विभाग त्यतिबेला पनि असफल भएको थियो ।

गत वर्ष ऐन नै बनाएर व्यवस्था लागू गर्न खोजियो । यातायात व्यवस्था विभागले तयार पारेको ‘सवारी तथा यातायात व्यवस्था ऐन २०७७’ को ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै राय–सुझावका लागि कानुन मन्त्रालयमा पुगेको थियो । 

उक्त ड्राफ्टमा बाइक तथा स्कुटर चलाउनेसँगै पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषय प्रस्ताव गरिएको थियो तर त्यो पटक पनि सफल हुन सकेन ।

मङ्गलबारको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले कुनै नियम बनाएर जबरजस्ती ‘लाद्ने’ नभई बाइक तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेटको प्रयोग गर्नुपर्छ भनेर नागरिक आफैँ जागरुक हुनुपर्ने तर्क गरे । 

छलफलमा सहभागी नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद तथा ‘रोड सेफ्टी एलायन्स’का कोअर्डिनेटर योगेश भट्टराईले ‘रोड सेफ्टी काउन्सिल’ निर्माण गर्नुपर्ने र त्यसका लागि जनचेतना जरुरी रहेको धारणा राखेका थिए । 

छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा समीर अधिकारीले कूल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे सवारीको हुने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । 

लागू भए हेल्मेटमा मात्रै अर्बाैँ खर्च ?

आर्थिक सर्वेक्षण २०७८/०७९ को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्म ३९ लाख ४० हजार ४५८ वटा मोटरसाइकल नेपालमा गुडिरहेका थिए ।  मोटरसाइकल हरेक दिन बिक्री हुने साधन भएकाले अहिले यो सङ्ख्या बढेर ४१ लाख नाघिसकेको अनुमान छ । 

यदि अब मोटरसाइकल तथा स्कुटरको पछाडि बस्ने व्यक्तिले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने भएमा ४१ लाख मोटरसाइकल धनीले प्रति बाइक थप एक हेल्मेट किन्नुपर्दा पनि ४१ लाख वटा नयाँ हेल्मेट खरिद गर्नुपर्ने हुन्छ । 

बजारमा १ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म पर्ने हेल्मेट उपलब्ध छन् । प्रतिगोटा २५ सयदेखि ६ हजार मूल्य भित्रका हेल्मेटहरु धेरै बिक्री हुने व्यवसायी बताउँछन् । 

धेरै बिक्री हुने हेल्मेट अनुसारको औसत मूल्य निकालेर एउटा हेल्मेटको मूल्य ४ हजार मान्ने हो भने ४१ लाख नयाँ हेल्मेट किन्न १६ अर्ब ४० करोड रुपैयाँ खर्चिनु पर्ने देखिन्छ ।

यसरी मोटरसाइकल तथा स्कुटरको पछाडी बस्नेले अनिवार्य हेल्मेट लगाउनु पर्ने नियम साँच्चै कार्यान्वयनमा आयो भने बजारमा पाइने जस्तो पायो त्यस्तै हेल्मेट प्रयोग गर्न पाइँदैन । गुणस्तर तथा नापतौल विभागले प्रमाणिकरण गरेको हेल्मेट मात्रै प्रयोग गर्नुपर्छ । विभागले हेल्मेटको गुणस्तर मापदण्ड बनाइसकेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved