दुधे बालक च्यापेर नलिएको ऋणको भारी बिसाउने चौतारो खोज्दै सडकमा भौतारिरहेकी कल्पना

भीमा पन्थी/बिजपाटी

भीमा पन्थी/बिजपाटी

Mar 22, 2023 | 06:22:09 PM मा प्रकाशित

laxmi  sunrise bank

काखीमा छ महिने दुधे बालक, हातमा बच्चाको कपडाका पोको र मन मस्तिष्कमा मिटरब्याजीले बढाएको ऋणको भारी बोकेर धनुषाबाट पैदलै काठमाडौँको गन्तव्य सोझ्याउँदै सडकमा भौतारिरहेकी छिन् धनुषाकी कल्पना धामी ।

छ दिन अघि धनुषाबाट हिडेकी कल्पनाको आजको पैदल यात्रा पथलैयाबाट हेटौँडाका लागि जारी छ । उनलाई अन्य मिटरब्याजी पीडितहरुले साथ दिइरहेका छन् ।

कतिबेला कालो बादल मडारिएर गड्याङगुडुङ् गर्दै झरेको पानीको छिर्काेले हिर्काउँछ त कतिबेला खुलेका आकाशबाट सिधा परेको सूर्यको रापले पोलिदिन्छ । त्यसबेला जसोतसो गरी छातीमा टाँसिएको दुधे बालकलाई जोगाउनै मुस्किल पर्छ उनलाई । 

त्यो निर्दाेष बालकलाई के थाहा भोलि आफूले नलिएको ऋणको भारीले च्यापिहाल्छ की भन्नेमा औधी चिन्तित छिन् कल्पना । उनी त्यही ऋणको भारीले छोरालाई नच्यापोस् भनेर कष्ट सहेरै भए पनि सरकारलाई घच्घच्याउन आँटका साथ हिँडेरै काठमाडौँ आइरहेको सुनाउँछिन् ।

उनको त्यो कष्टकर यात्राको गन्तव्य त्यहाँसम्मको हो, जहाँ उनले लिँदै नलिएको ऋणको भारी बिसाउने चौतारा भेटिन्छ । उनले सुनेकी मात्रै छिन्, त्यो चौतारो काठमाडौँमा छ रे । त्यसैले त उनी घाम, पानी, भोक, तिर्खा, थकाइ नभनी निरन्तर पैदल हिडेर काठमाडौँको यात्रामा अनवरत छिन् ।

आज बुधबार उनको यो यात्राको छैटौँ दिन हो । उनका आँखा देख्दा महसुस हुन्छ की दिनभरको पैदलयात्राले मात्रै रातो र टिलपिल देखिएको होइन । उनी पक्कै पनि रातभर बच्चा कै स्वासप्रश्वास हेरेर निदाएकी छैनन् होला । उनले आफ्नो भाषामा भनिन्, कसरी सुत्नु म्याम, रातीमा पनि बच्चाको ख्याल गर्नुपर्छ (नेपालीमा उल्था गरिएको) ।

निदाउन पनि कसरी निदाउनु । हिंड्दा कहाँ पुगिन्छ, त्यहीँ टेन्ट हालेर सुत्नुपर्छ । भुईंमा घस्रिनेदेखि आकासमा उड्ने जीवजन्तु वा भनौँ रुखकै हाँगा पो खसेर लाग्छ कि भन्ने चिन्ताले झपक्क हुन पाउँदिनन् । उनका प्रस्तुतिले त्यही भनिरहेको बुझिन्छ ।

छोराको श्वासप्रस्वास गर्दै गर्दा कतिबेला आँखा झिपिक्क गरे पनि झल्याँस्स विउँझिन्छिन । यसरी नै धामीको ६  दिन, पाँच रात वितिसके । भन्छिन्, ‘अब कति दिन र कति रात यसरी काट्नुपर्ने हो थाहा छैन, मैले नखाएको ऋण, कसरी तिरौँ ।’


कसरी फसिन मिटरब्याजीको फन्दामा ?

धनुषाको सबैला नगरपालिकाकी धामीले घर बनाउनका लागि लघुवित्तबाट ५० हजार ऋण लिएकी थिइन् । गएको वर्ष किस्ता तिर्ने समयमा उनको आउनुपर्ने पैसा आउन केही ढिला भएपछि गाउँकै साहुबाट ऋण लिएको उनी बताउँछिन् । 

उनका अनुसार साहुबाट एक हप्ताको लागि ५० हजार ऋण लिइन् र तोकिएको समयभित्रै उक्त रकम चुक्ता गरिन् । तर, साहुले ऋण दिने समयमा उनलाई २ लाखको ऋण लिएको कागज बनाइदियो । लिएको पैसा साँवा, ब्याज चुक्ता गरिसक्दा पनि साहुले अझै पैसा नपुगेको भन्दै मागिरहने र धम्काइरहने गरेको उनले बिजपाटीलाई बताइन् ।

सोही कारणले गर्दा अहिले उनी मिटरब्याज विरुद्ध सङ्घर्ष समितिमा आबद्ध भएर काठमाडौँसम्म न्याय माग्न आउँदै छिन् । 

समितिको नेतृत्वमा चैत दुई गतेदेखि बर्दिवासबाट ८० जनाको टिममा उनी पनि एक हुन्, जो पैदलै काठमाडौँ आउँदै छिन् । उनीहरु बाटोमै खाने, बस्ने र यात्रा गर्ने गरिरहेका छन् । आज पनि बिहान ७ बजे पथलैयाबाट हिडेर हेटौँडासम्म आउँदै गरेको उनले सुनाइन् । 

तमसुक ब्यवस्था खारेज गर, मिटरब्याजीले लुटेको सम्पत्ति फिर्ता गर, मिटरब्याजीको अवैध सम्पत्ति छानविन गर, पिडितमाथि लगाइएको झुटा मुद्दा खारेज गर, मिटरब्याजीलाई कारबाही गर, पिडितलाई न्याय दे लगायतका नाराहरु तथा सचेतनाका कार्यक्रमहरु गर्दै काठमाडौँ आइरहेको समितिका सदस्य कुमार बर्ताैलाले बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै समस्या समाधानमा पहल गर्ने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved