समाचार प्रभाव: सिस्टम ह्याक गरेर टिकेट काटिएकोबारे साइबर व्यूरोको चासो, पर्यटन बोर्डलाई काट्यो पत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 09:02:12 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले पहिलोपटक उठान गरेको लाखौँँको टिकेट ह्याकको समाचारमा नेपाल प्रहरीको साइबर ब्युरोले चासो देखाएको छ। व्यूरोले ह्याकरले नेपालका ट्राभलहरुलाई लक्षित गरी अनाधिकृत रुपमा टिकेट काटिएकोबारे नेपाल पर्यटन बोर्डलाई पत्र पठाएर चासो व्यक्त गरेको हो ।

व्यूरोले नेपालका विभिन्न ट्राभल्स कम्पनीलाई लक्षित गरी ह्याकरले अनाधिकृत पहुँच पुर्याएर विदेशको टिकेट जारी गर्ने घटना बढिरहेको हुँदा सुरक्षित र सतर्कताका लागि ट्राभल्स व्यवसायीलाई जानकारी गराईदिनलाई भन्दै नेपाल पर्यटन बोर्डलाई पत्राचार गरेको छ । व्यूरोले अनुसन्धानका लागि माग गरेका बेला यस घटनासँग जोडिएका ट्राभल, एयरलायन्स र सफ्टवेयर कम्पनीलाई आवश्यक सूचना उपलब्ध गराइदिन पनि भनेको छ । 

उक्त पत्र आएपछि बोर्डले आवश्यक सचेत गराउने, सुरक्षित रहन तथा जथाभावी आफ्नो गोप्य जानकारीहरु शेयर नगर्न र यकिन गरेर मात्रै कारोबार गर्न सम्बन्धित निकायलाई सचेत गराउने र सावधानीका उपायहरु अपनाउन सुझाएको निर्देशक मणिराज लामिछानेले बताए ।

बिजपाटी डटकमले ुआयाटा र सेभरको सिस्टम ह्याक गरेर बेचियो लाखौँको प्लेन टिकेट, खतरामा नेपालका ट्राभलु शीर्षकमा जेठ १७ गते पहिलोपटक समाचार लेखेको थियो। जसमा सफ्टवेयर तथा टेक्नोलोजी सेवा दिने ग्लोबल डिस्टिब्यूटर सेन्टर (जीडीएस) कम्पनी सेभर(SABRE)को सिस्टम नै ह्याक गरेर 'कस्मो नेपाल ट्राभल्स एण्ड टुर्स'को युजर नेममार्फत ७४ लाख रुपैयाँ बराबरको टिकेट काटिएको कुरा उल्लेख थियो ।

ह्याकरले टिकेटिङका लागि सफ्टवयर तथा टेक्नोलोजी सेवा दिने सेभरको सिस्टम मात्र नभई विश्वका करिब ३०० एयरलाइन्स (कुल हवाई यातायातको ८३ प्रतिशत) प्रतिनिधित्व गर्ने इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (IATA)को सिस्टमसमेत ह्याक गरेको देखिन्छ। 

कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सले आफूले लिएको २५ लाखको क्यापिङभन्दा पनि बढी अर्थात् ८४ लाख रुपैयाँको टिकेट काटिनुले ट्राभल्सको मात्र नभई  सफ्टवयर तथा टेक्नोलोजी सेवा दिने सेभरको सिस्टममा नै ह्याकरले प्रवेश गरेको देखिन्छ। 

यसले सफ्टवयर तथा टेक्नोलोजी सेवा दिने सेभरको सिस्टम प्रयोगगर्ने नेपालका ट्राभल्सले दिने सेवामाथि नै प्रश्न उब्जिएको छ। यद्यपि सेभरले पनि यस घटनामा आफ्नो कमजोरी स्वीकार गरेको छैन। 

सेभरले अहिले पनि कस्मो नेपाल ट्राभल्स एण्ड टुर्सको नै युजर नेम र पासवर्डको दुरुपयोग गरिएको तर्क दिँदै आएको छ। तर सेभरको सिस्टम प्रयोग गर्ने कस्मो नेपाल ट्राभल्स मात्र नभइ अरु दुई ट्राभल्स देउराली र निलमा पनि यस्तै घटना घट्नुले सेभरको सिस्टममा पनि समस्या देखिन्छ। 

देउराली टुर्स एण्ड ट्राभल्सको युजर नेममार्फत ह्याकरले ६५ लाखको टिकेट काटेको छ भने निल ट्राभलको पनि लाखौँको टिकेट चोरबाटोबाट काटिएको छ। उनीहरुले पनि यसको क्षतिपूर्ति सेभरलेले वेहोर्नुपर्ने दावी गरेका छन्। 

घटनाक्रम हेर्दा ह्याकरले पछिल्लो समय सेभरको सफ्टवेयर तथा टेक्नोलोजी सेवा लिइरहेका टुर्स एण्ड ट्राभलको युजर नेम प्रयोग गरेर टिकेट काट्ने गरेको देखिन्छ। कस्मो नेपाल र देउराली टुर्स एण्ड ट्राभलसँग भएको घटना हेर्दा ह्याकरले शनिबार रातीको उडानका लागि शुक्रबार साँझदेखि टिकेट जारी गर्ने गरेको पाइएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved