ऋण लिएर तिर्दिन भन्नेको कुनै सुनवाइ हुँदैनः अर्थमन्त्री डा. महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 09:24:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 ऋण लिएर तिर्दिन भन्नेको राज्यले कुनै सुनवाइ नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट पारेका छन्। अर्थतन्त्रलाई थप गति दिन मंगलबार आयोजित निजी क्षेत्रका व्यवसायीसँग भएको छलफलपछि मन्त्री डा. महतले ऋण तिर्ने पर्ने र ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ नहुने बताए ।

मन्त्री डा. महतले भने , ‘अप्ठ्यारामा परेका व्यवसायलाई सहजीकरण गर्ने विषयमा पनि छलफल भयो । तर, ऋण लिएर तिर्दिन भनेर जो लाग्छ, त्यसको सुनवाइ हुँदैन । ऋण तिर्नैपर्छ । अप्ठ्यारामा परेकाहरुलाई केही समय दिएर सहजीकरण गर्न सरकार तयार छ ।’ ‘ऋण लिएर नतिर्ने, ठूला कुरा गर्दै नेता पल्टिनेलाई राज्यले सहन सक्दैन, उहाँले भन्नुभयो, ‘समस्यामा परेकाले केही समय पाउँ, केही सहज होस् भन्छ भने उसप्रति राज्यले केही सोच्ने छ ।’

अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा. प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकको तर्फबाट गर्भनर महाप्रसाद अधिकारीले बैठकमा तथ्यांकसहित देशको वस्तुस्थितिको यथार्थ प्रस्तुत गरेका थिए।  

 मन्त्री डा. महतले भन्नुभयो, ‘हाम्रो खर्च गर्ने पद्धतिलाई गति दिएर पूँजी प्रवाह गर्ने, आवश्यकता भएको ठाउँमा राष्ट्र बैंकले सहजीकरण गर्नेछ । ऋण लिएर सदुपयोग गर्ने प्रयास गरे, विविध कारणले त्यसको प्रतिफल आउन सकेन, यसलाई कसरी सरकारले सहयोग गर्न सक्छ भन्ने विषयमा छलफल भयो । सरकारले खराब कर्जाको विषयवस्तु अब अघि बढाउँछ ।’ 

जति पनि मन्त्रालयबाट दायित्व सिर्जना भएर आएको छ, त्यसलाई अर्थमन्त्रालयले सल्टाए उल्लेख गर्दै उनले निर्माण व्यवसायीले काम गरेको पेस गरेको बिल तिर्नुपर्छ भन्ने कुरामा अर्थमन्त्रालय स्पष्ट रहेको मन्त्री डा. महतले बताए। 

भूकम्प प्रभावित क्षेत्रमा सरकारले उदारताका साथ सहयोगी हात अघि बढाइसकेको भन्दै मन्त्री डा. महतले भने , ‘मौद्रिक र वित्तीय नीति प्रभावकारी बनाउने, अप्ठ्यारामा परेकालाई सहजीकरण गरेर अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई साथमा लिएर सरकार अघि बढ्छ ।’

समग्रमा दीर्घकालीन सोचका साथ जलविद्युत, कृषि, पर्यटन, आईटी, साना उद्योग व्यवसायको प्रवद्र्धन गर्ने क्षेत्रमा तदारुकताका साथ सरकारले काम गर्ने उनले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved