‘सिण्डिकेट’कै झल्को दिने अरनिको यातायातको ‘दादागिरी’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 04, 2023 | 04:56:59 PM मा प्रकाशित

laxmi sunrise bank

पूर्व अरनिको यातायात प्रा.लि.ले आफ्नो बर्चश्व कायमै रहनुपर्ने दाबीसहित सिण्डिकेटकै झल्को दिने गरी अन्य कम्पनीका गाडीलाई अवरोध गर्दै आएको पाइएको छ । आफ्नो कम्पनीको गाडी चलिरहेको रुटमा अर्को कम्पनीले गाडी चलाउन थालेपछि पूर्व अरनिको यातायातका कर्मचारीले अन्य कम्पनीका गाडीका चालक तथा सह–चालकमाथि आक्रमण नै गर्न थालेका छन् ।

आइतबार बिहान गणेश हिमाल तराई यातायातको प्रदेश–३–०१–००५ ख ९९७२ नम्बरको बसका सह–चालकमाथि बा ५ ख ५८१७ नम्बरको अरनिको बसका सहचालकले रामेछापको धोबीमा हातपात गरेका छन् । अरनिको गाडीका सह–चालकले गणेश हिमाल तराई यातायातको गाडीभित्रै छिरेर सह–चालकलाई कुटपिट गरेको बताइन्छ ।

अरनिको यातायातबाट भएको यो घटना पहिलो भने होइन । यसअघि पनि पटकपटक अन्य कम्पनीका गाडीमाथि पूर्व अरनिको यातायातले नियोजित रुपमै अवरोध गर्दै आएको थियो । करिब दुइ हप्ता अगाडी पनि काठमाडौँको सल्लाघारीमा पार्किङ गरेर राखिएको गणेश हिमाल तराई यातायातको गाडीको ७ वटै पाङ्ग्राको हावा निकालिएको थियो । भोलीपल्ट ओखलढुङ्गाको खिजिफलाटे जानुपर्ने बसको ७ वटै चक्काको हावा निकाल्ने घटनामा पूर्व अरनिको यातायात प्रा.लि.का पदाधिकारी नै संलग्न रहेको दाबीसहित उजुरी पनि परेको थियो ।

घटनाको पृष्ठभूमी

गणेश हिमाल तराई यातायात प्रा.लि.का अध्यक्ष आत्मराम थापाका अनुसार २०६७ सालदेखि (धुलेबाटो हुँदै) हिमाल तराई यातायात सेवा समितिले पूर्वका ओखलढुङ्गा र सोलुखुम्बुसम्म काठमाडौँबाट बस चलाउँदै आएको थियो । सिण्डिकेट खारेज भएपछि समिति कम्पनीमा रुपान्तरण भयो र रुटहरु विस्तार गर्यो । रामेछापको मन्थली हुँदै विभिन्न रुटमा सेवा सुरु गर्यो ।

यसपालीको दशैँ अगाडीबाट पूर्व अरनिको यातायातले ओखलढुङ्गा र सोलुखुम्बुमा गाडी चलाउन सुरु गर्यो, जुन रुटमा गणेश हिमाल तराई यातायातका गाडी चलिरहेका थिए । दशैँ अगाडीबाट अनौपचारिक सेवा सुरु गरेको भएपनि पूर्व अरनिको यातायातले कार्तिक २१ गते ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका प्रमुखलाई ल्याएर औपचारिक रुपमा सेवा आरम्भ गर्यो । गणेश हिमाल तराईका अध्यक्ष थापाका अनुसार सिण्डिकेट खारेज भइसकेको अवस्थामा जुनसुकै रुटमा जुनसुकै कम्पनीका गाडी पनि रुट परमिट लिएर चल्न सक्ने भएकाले अर्को कम्पनी आयो भनेर हिमाल तराईले विरोध गरेन । ‘सिण्डिकेट हटिसकेको हुनाले हामीले उसको गाडी आउँदा स्वागत गर्यौँ’ अध्यक्ष थापा भन्छन् ।

यसपछि गणेश हिमाल तराई यातायात प्रा.लि.ले पनि पूर्व अरनिको यातायातले सेवा दिइरहेको रुटमा बस हाल्यो । कम्पनीले काठमाडौँबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गको घोराखोरी, खिजिफलाटे र रामेछापको बाम्तीभण्डार र शिरिषेसम्म चल्ने गरी ४ वटा रुट थप गर्यो । हिमाल तराई यातायातले यी ४ रुटमा गाडी हालेपछि पूर्व अरनिको यातायातले दादागिरी र गुण्डागर्दी सुरु गरेको हिमाल तराई यातायातका अध्यक्ष थापाको दाबी छ । सोही क्रममा आइतबार आफ्नो कम्पनीको गाडीका सह–चालकमाथि हातपात भएको उनको भनाई छ ।

‘हामी चलिरहेको रुटमा उनीहरु आउँदा हामीले स्वागत गर्यौ, कुनै डिस्टर्ब गरेनौँ’ थापा थप्छन्, ‘तर, पूर्व अरनिको यातायातका गाडीको एकाधिकार रहेका ठाउँमा हामीले गाडी हाल्दा गुण्डागर्दी सुरु गरियो ।’

‘चावहिलदेखि सुर्यविनायकसम्म गाडी छेक्ने काम हुन्छ’

अध्यक्ष थापाका अनुसार गणेश हिमाल तराई यातायातका गाडी नयाँ बसपार्कबाट छुट्छन् भने पूर्व अरनिको यातायातका गाडी चावहिल र जडिबुटीबाट छुट्छन् । बसपार्कबाट गन्तव्यमा हिडेको गणेश हिमाल तराई यातायातको गाडी चावहिलमा देख्नासाथ पूर्व अरनिको यातायातले आफ्ना ४/५ वटा गाडी अगाडी पछाडी लगाएर छेक्ने काम गर्ने उनको गुनासो छ ।

‘सूर्यविनायकसम्म हाम्रा गाडी छेक्ने काम हुन्छ, चावहिलबाट ४/५ वटा गाडीले जडिबुटीसम्म छेक्छन्, चालक र सहचालकलाई धम्याउँछन्’, थापाले गुनासो गर्दै भने ।

‘सहनै नसक्ने स्थिति आइसक्यो, प्रशासनले पनि सहयोग गरेन’

गणेश हिमाल तराई यातायात प्रा.लि.का रामेछाप संयोजक सन्दिप थापा पूर्व अरनिको यातायातको ज्यादतीले सीमा नाघिसकेको बताउँछन् । हरेक रुटमा पूर्व अरनिको यातायातका कर्मचारीले गणेश हिमाल तराई यातायातका गाडीका चालक तथा सह–चालकलाई धम्क्याउने, हातपात गर्ने, यात्रुलाई समेत यो कम्पनीका गाडी नचढ्नु भनेर उर्दी जारी गर्ने गरेको थापा बताउँछन् ।

कम्पनीका अध्यक्ष थापा पनि अहिलेसम्म हातपात नगर्नू भनेर आफूले गाडीका चालक र सह–चालकलाई सम्झाएर राखेको भएपनि अब थाम्न मुस्किल भइसकेको बताएका छन् ।

‘उनीहरुको ज्यादती बढ्दै गएको छ, मैले अहिलेसम्म हाम्रा स्टाफहरुलाई हात नहाल्नु भनेर सम्झाएर सम्हालिरहेको छु, अब थेग्नै गाह्रो भइसक्यो’ उनले भने, ‘कुन दिन ठूलै घटना हुन्छ कि भन्ने डर र चिन्ता छ ।’

अध्यक्ष थापाका अनुसार पूर्व अरनिको यातायातले यसरी दुःख दिन थालेपछि कम्पनीले ५ वटा जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन माग गर्दै निवेदन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, जिल्ला प्रशासन कार्यालय भक्तपूर, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा निवेदन दिइएको भएपनि प्रशासनबाट सहयोग नपाइएको अध्यक्ष थापा बताउँछन् । ‘प्रशासनमा निवेदन दिँदा पनि सहयोग पाएका छैनौँ’ उनले भने ।

हामी सिण्डिकेटको पक्षधर होइनौँ, यातायात माफियाहरुले हल्ला चलाएः केदार क्षेत्री

पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले आफ्नो कम्पनी सिण्डिकेटको पक्षमा नरहेको दाबी गर्दै केही यातायात माफियाहरुले बद्नाम गराउन अनेक हल्ला चलाएको आरोप लगाएका छन् ।

‘हिजो रामेछापमा भएको घटना दुइ गाडीबीच को पहिला जाने भनेर डिस्कस हुँदा भएको घटना हो, हामी सिण्डिकेटको पक्षमा छैनौँ, हिजो पनि थिएनौँ, आज पनि छैनौँ’ उनले भने, ‘अरनिको यातायातले निकै उच्च स्तरको व्यवस्थापन गरेको हुनाले यातायात भित्र रहेका माफियाहरु, दलालहरु सक्रिय भएर अनेक खालको प्रयत्न गरिरहेका छन् ।’

अध्यक्ष क्षेत्रीले आफ्नो कम्पनीले पहाडी जिल्लाको लामो दूरीमा ५ वर्ष पूराना गाडी नचलाउने भएकाले आफ्नो कम्पनीमा ५ वर्ष चलेर ‘रिजेक्ट’ भएका गाडीहरुलाई संगठित गरेर गणेश हिमाल तराई यातायातले अरनिको यातायातलाई अवरोध गर्ने कोशिस गरिरहेको आरोपसमेत लगाएका छन् ।

‘हामीले पहाडी जिल्लामा गाडी चलाएका छौँ, हामीले लामो दूरीमा ५ वर्षभन्दा पूरानो गाडी चलाउँदैनौँ, ५ वर्ष पुगेपछि रिजेक्ट गर्छौँ’, उनले भने, ‘हामीबाट रिजेक्ट भएका गाडीहरु हिमाल तराईमा संगठित गरेर उसले डिस्टर्ब गर्ने कोशिस गरेको हो ।’

यसअघि अरनिको यातायातले ३ वटा पम्पमा तेल नहाल्ने निर्णय गरेकोमा समेत त्यसैलाई सिण्डिकेट भनेर प्रचारबाजी गरिएकोमा उनले आपत्ति जनाए । उनले ति ३ वटै पम्पको सञ्चालक एकै व्यक्ति भएको र मिसावट गरेर बिक्रि गर्ने गरेकाले आफूहरुले ति ३ पम्पमा तेल नहाल्ने निर्णय गर्नुपरेको अध्यक्ष क्षेत्रीको दाबी छ ।

स्मरण रहोस्, सर्वोच्च अदालतले २०७३ पौषमा यातायातको सिण्डिकेट खारेज गर्न परमादेश दिएको थियो । यहीँ आदेशमा टेकेर केपी ओली प्रधानमन्त्री भएका बेला २०७५ सालमै सरकारले सिण्डिकेट खारेज गर्ने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved