
पूर्व अरनिको यातायातले आज फेरि ओखलढुङ्गामा अर्को कम्पनीको गाडी छेकेको छ । ओखलढुङ्गाको घोराखोरीबाट बिहान ५ बजे छुट्नुपर्ने गणेश हिमाल तराई यातायातको गाडीलाई बाटो नै नदिएर पूर्व अरनिको यातायातको गाडीले छेकेको हो ।
ओखलढुङ्गा प्रहरीका अनुसार बिहान ५ बजेदेखि ६ बजेसम्म एक घण्टा अरनिको यातायातले गणेश हिमाल तराई यातायातको गाडीलाई बाटो नदिएर छेकेर बसेको हो । प्रदेश ३–०० ख ९५७० नम्बरको अरनिको यातायातको गाडीले बा ५ ख ८२२९ नम्बरको हिमाल तराई यातायातको गाडीलाई छेकेर बाटो नदिएपछि २ गाडीका चालक सदस्यहरुबीच विवाद समेत भएको छ । बाटो छेकेर अवरोध गरेको भन्दै अरनिको यातायातको गाडीका एक कर्मचारीलाई प्रहरीले ओखलढुङ्गामै नियन्त्रणमा लिएर राखेको छ ।
ओखलढुङ्गाका डिएसपी दिपक केसीका अनुसार हिमाल तराईको गाडी छेक्ने अरनिको यातायातको गाडीका चालक र साहु गणेश खड्का हुन् । खड्काले आफू ओखलढुङ्गाकै स्थानीय हुँ भन्दै हिमाल तराईको गाडीलाई बाटो नदिएर छेकेर राखेको बुझिएको छ ।
गणेश हिमाल तराई यातायात प्रा.लि.का अध्यक्ष आत्मराम थापाले यस ५ बजे छुट्नुपर्ने आफ्नो कम्पनीको गाडीलाई १ घण्टा रोकेर अवरोध गरेको बताएका छन् । उनले यसबारे ओखलढुङ्गा प्रहरीसँग कुराकानी भइरहेको बताएका छन् ।