
नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपाललाई ‘वेडिङ डेस्टिनेशन’ घोषणा गर्न माग गरेकी छिन् । उपाध्यक्ष श्रेष्ठले नेपाल भारतको सीमा क्षेत्रमा नेपालका व्यवसायीहरुले स्तरीय र तारे होटलमा लगानी गरिरहेको र भारतीय नागरिकहरु विवाह गर्न नेपाल आउने क्रम पनि बढिरहेकाले नेपाललाई तत्कालै ‘वेडिङ डेस्टिनेशन’ घोषणा गर्नुपर्ने बताएकी हुन् ।
आफ्ना सन्तानको बिहे नेपालमा आएर गर्ने भारतीयहरुको संख्या बढिरहेको अवस्थामा ठूलो रकम भारतीय रुपैयाँ बोकेर आउन समेत समस्या रहेको भन्दै उनले यो समस्या समाधान गरि नेपालमा आएर बिहे गर्ने जोडी वा परिवारलाई थप सहयोग हुने खालको नीतिगत सहजीकरण गरिदिन समेत उपाध्यक्ष श्रेष्ठले माग गरेकी छिन् ।
उनका अनुसार नेपाललाई ‘वेडिङ डेस्टिनेशन’ अर्थात् वैवाहिक समारोहको लागि गन्तब्य घोषणा गरेपछि पर्यटन र ज्वेलरीसहित हस्तकला व्यवसायसमेत बढ्ने देखिन्छ ।
‘भारतले कुनै बेला यस्तो घोषणा गर्दा त्यहाँ टुरिजम, टेक्सटायल र ज्वेलरी व्यवसाय निकै ग्रोथ भएको थियो’ उनले भनिन्, ‘नेपाललाई पनि वेडिङ डेस्टिनेशन घोषणा गर्न ढिलाई गर्नु हुँदैन, होटल व्यवसायीहरुले गरेको लगानीको सुरक्षणका लागि पनि यो काम सरकारले चाँडोभन्दा चाँडो गरिदिनुपर्छ ।’