साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेको छ । यो दिन नेप्से परिसूचक २७.५४अंकले बढेर २ हजार ९२ विन्दुमा बन्द भएको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स पनि ७.३१ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से बढेको थियो ।अघिल्लो कारोबार दिन ५ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको थियो । पछिल्ला केही दिनयता उच्च दरले बढ्न नसकिरहेको नेप्से आइतबार यता उच्च दरमा नेप्से बढ्न थालेको छ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षा गरेपछि नेप्सेमा लगातार वृद्धि भइरहेको छ। नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३१५ वटा कम्पनीको १४ करोड ३७ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा यो दिन ५ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन चार वटा अलग- अलग कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। ।
त्यस्तै यस दिन बाराही हाइड्रोपावर र एनआईसी एशिया बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशतले घटेको छ।१३ वटा मध्ये आठ वटा उपसमूहका सूचकहरु बढेका छन् । यो दिन सबैभन्दा बढी बैंकिङ उपसमूह ४.१८ प्रतिशतले बढेको छ ।
त्यस्तै, यो दिन व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, लगानी र म्युचुअल फण्ड उपसमूहको परसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन पाँच वटा उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक घटेको छ ।
यो दिन कारोबार रकमा आधारमा पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको १९ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सीईडीबी हाइड्रोपावर र फस्ट माइक्रोफाइनान्स रहेको छ । जसअनुसार सीईडीबी हाइड्रोपावरको १९ करोड ९२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने फस्र्ट माइक्रोफाइनान्सको १३ करोड ४८ लाख बराबरको शेयर खरिदबिक्री भएको छ।