यो वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री साह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2024 | 05:47:09 PM मा प्रकाशित

यो वर्ष रासायनिक मलको अभाव नहुने भएको छ ।

यसबारे कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री साहले अहिले मुलुकमा ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताइन् ।

उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने बताइन् । उनले आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको पनि बताइन् ।

मन्त्री साहले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने पनि बताइन् ।

उनका अनुसार आगामी आर्थिक वर्षका लागि २ लाख ५० हजार मेट्रिक टन मलको टेण्डर आहृवान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको छ ।चालू आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६७ करोड रुपैयाँ अनुदानका लागि विनियोजित बजेटबाट जम्मा ६ लाख मेट्रिक टन मलको लागि टेण्डर आहृवान भएको छ । 

सरकारले युरियामा १७ प्रतिशत र डिएपीमा ५५ प्रतिशत र पोटासमा ४७ प्रतिशत औसत अनुदान उपलब्ध गराउँदै आएको छ । 'आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड विनियोजन गरिएको छ', उनले भनिन्, 'हाल अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य क्रमशः घट्दो क्रममा रहेकोले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या हुँदैन । '

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved