राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न गरेको आह्वान र प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई गरेको नियुक्ति संविधानविपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ।
राष्ट्रपतिले गरेको सरकार गठनको आह्वान, त्यसअनुसार जारी पत्र र सपथ रोक्न माग गर्दै अधिवक्ता दीपक अधिकारी, खगेन्द्र चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दिएका हुन्। उक्त रिट सर्वोच्चमा दर्ता भएको र साउत ६ गतेलाई पेशी तोकिएको अदालतले जनाएको छ ।
रिट निवेदकहरूले धारा ७६को उपधारा २ अनुसार दुईवा दुईभन्दा बढी दलको समर्थन पाएर यसअघि प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको प्रधानमन्त्री नियुक्त हुनुपर्ने जिकिर गरेका छन्।
उपधारा ३ मा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले नियुक्ति गर्नुपर्ने उल्लेख छ।