प्रधानमन्त्रीले आफ्नो पहिलो निर्णय सञ्चारमाध्यमको साटो फेसबुक नै किन रोजे ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2024 | 11:42:24 AM मा प्रकाशित

नेपाली कांग्रेस तथा अन्य केहि दलको समर्थनमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आफ्नो पहिलो संदेश सामाजिक सञ्जाल फेसबुकमार्फत् साझा गरे। त्यतिमात्र नभई प्रधानमन्त्री भइसकेपछिको पहिलो मन्त्रिपरिषदको निर्णयसमेत ओलीले फेसबुकमार्फत् नै जानकारी गराए।  

प्रधानमन्त्री हुने बित्तिकै ओलीले फेसबुकमा ‘सबैमा सम्मान। सबैलाई धन्यवाद !’ भन्दै आम नेपाली तथा आफुलाई सहयोग गर्नेहरुलाई सम्मान ब्यक्त गर्दै धन्यबाद दिए। प्रधानमन्त्री बनेपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले क्रिकेट रंगशाला सम्बन्धि गरेको निर्णय पनि ओलीले फेसबुकमार्फत नै जानकारी गराए।

‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि ३०० दिनको समयसीमा तोकिएको छ’, भन्ने निर्णय फेसबुकमार्फत नै उनले जानकारी दिए ।

यसअघिका प्रधानमन्त्रीले मात्रै नभएर स्वयं ओलीले पनि पहिलो संदेश तथा पहिलो मन्त्रिपरिषदको निर्णय सुनाउन पत्रकार सम्मेलनको आयोजना गर्ने गरेका थिए। तर वर्षौंदेखि चल्दै आएको यस प्रकारको चलनलाई अन्त्य गर्दै ओलीले पछिल्लो समय भने आफ्ना संदेश तथा मन्त्रिपरिषदको निर्णय सार्वजनिक सञ्चारमाध्यमको सट्टामा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्ने बाटो अपनाएका छन् । 

ओलीको यो अभ्यासलाई लिएर  सार्वजनिक वृतमा टिकाटिप्पणीसमेत शुरु भइसकेको  छ।  कतिले यसलाई समयको बचत भनेका छन् भने केहिले पछिल्लो समय आमसञ्चार माध्यमको प्रस्तुतिप्रतिको अविश्वासको रुपमा लिएका छन्। 

तर संदेश तथा निर्णयहरु सुनाउन ओलीले सामाजिक सञ्जाल रोज्नुका पछाडि प्रविधिको उच्चतम प्रयोग मात्रै नभएर आफ्नो कुरा जनताले जस्ताको त्यस्तै थाहा पाउन भन्ने उद्धेष्य रहेको प्रधानमन्त्री ओलीको कोर टिममा संलग्न एकजनाले बिजपाटीलाई बताए।

‘यसअघि आफ्ना संदेश तथा  तथा निर्णयबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दा विषयवस्तु अन्तै मोडिने गरेको र त्यसबाट जनताले वास्तविक बिषय थाहा पाउन नसक्ने अवस्था बनेकाले अहिले सामाजिक सञ्जालको प्रयोग गरिएको हो’, उनले भने। 

उनकाअनुसार समयको बचत र प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना धारणा र सरकारका काम कारबाही जनतामाझ जस्ताको तस्तै पुर्‍याउनलाई प्रधानमन्त्री ओलीले आगामी दिनमा सामाजिक सञ्जाल नै प्रयोग गर्ने योजना बनाएका छन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved