
काठमाडौं–तराई- मधेश द्रुतमार्ग सडक आयोजनाको काम ३५ प्रतिशतमात्र सम्पन्न भएको छ । २०७४ सालबाट निर्माणको जिम्मा पाएको नेपाली सेनाले करिब ८ वर्षमा ३५.३८ मात्र भौतिक प्रगति सम्पन्न गरेको हो । वित्तीय प्रगतिसहित ३६.६६ प्रतिशत काम सम्पन्न रहेको सेनाको दाबी छ । यो सडकको कूल लम्बाई ७०.७७ किलोमिटर रहेको छ।
आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानका पुलहरु मध्ये हालसम्म ८५ स्थानका पुलहरुको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको र बाँकी ४ स्थानका पुलहरुमा जग्गा अधिग्रहण गर्न बाँकी रहेको छ । जसमा पाँचवटा पुल मात्र निर्माण सम्पन्न भएको सेनाले जनाएको छ । त्यस्तै नेपाली सेनाका अनुसार आयोजनाको लागि कुल अधिग्रहण आवश्यक करिव १७ हजार ६५१ रोपनी जग्गामध्ये व्यक्तिगत जग्गा ५ हजार ४८७ रोपनी रहेको र हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणको लागि सुचना प्रकाशन भएकोमा ४ हजार ८११ रोपनी अधिग्रहण सम्पन्न भइसकेको छ । करिव ३९४ रोपनी अधिग्रहण बाँकी रहेको सेनाकाे भनाइ छ ।
खोकना– बुङ्गमती खण्डको मुल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मुल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनी सहित करिव ३७१ रोपनी रहेको छ भने मकवानपुर जिल्लामा १६ रोपनी र काठमाण्डौ जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको सेनाको दाबी छ ।
२०७४ वैशाख २१ बसेको तत्कालीन मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय गौरव सेनालाई दिने निर्णय गरेको थियो भने २०७४ साल श्रावण २७ गते सडक विभागबाट नेपाली सेनालाई आयोजना हस्तान्तरण भएको । २०७४ साल मङ्सिरबाट नेपाली सेनाको जनशक्ति तथा राष्ट्रिय स्तरका निर्माणकार्य थालनी गरेको थियो ।