खान योग्य छैनन् खाने तेल, सम्बन्धित निकायलाई छैन कुनै चिन्ता !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 03:25:29 PM मा प्रकाशित

उपभोक्ताले नियमित रुपमा भान्सामा प्रयोग गर्ने खाने तेलमा अखाद्य वस्तु भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ विभिन्न जिल्लामा गरि १३ वटा तेल उद्योगले न्यूनस्तरका तेल बिक्री गरेको पाइएको छ । 

विभाग अनुसार काठमाडौं उपत्यकामा रहेको प्रोबायोटेक इण्डस्ट्रिजलाई न्यूनस्तरको तेल बेचेको भन्दै मुद्धा दायर गरिएको छ । त्यस्तै तोरी र भुटेको तेल पनि न्यूनस्तरको रहेको भन्दै विभागले विभिन्न तेल उद्योगलाई मुद्दा दायर गरेको छ ।   

सर्वसाधारण उपभोक्ताले दैनिक रुपमा उपभोग गर्ने वस्तुमा पनि  बजार नियमन गर्ने र खाद्य प्रविधि तथा गुणस्तर विभाग मुकदर्शक बनेपछि गुनासो गरेका छन् । कच्चा पदार्थबाट बनेको तेल भन्दै मिसावट गरेर बिक्री गरेको पाइएपछि यसको गुणस्तर माथि प्रश्न उठ्दै आए पनि विभागले कुनै चासो दिएको छैन ।  

कच्चा भटमासको तेल मुख्यतः अर्जेन्टिना, बाज्रिलबाट आयात हुन्छ । त्यस्तै  कच्चा सूर्यमुखीको तेल युक्रेन, कच्चा पाम आयल मलेशिया र इन्डोनेशियाबाट आयात हुने गर्दछ ।

 सूर्यमुखी फूलको दानालाई सोलभेन्ट एक्स्ट्राक्सन अथवा एक्सप्रेसन विधि अपनाएर निकालिएको तेल बन्छ । यो तेल स्वच्छ, सफा, दुर्गन्ध नभएको, पानी छुट्टिने गरी जलांश नभएको, अरू बाह्य तत्व कसररहित, रङ वा गन्ध आउने वस्तु वा खनिज तेल नमिसिएको हुनुपर्छ ।

जसका लागि रिफ्र्याक्टिभ इन्डेक्स १.४६ देखि १.४६ सम्म हुनुपर्ने, आयोडिन भ्यालु ११० देखि १४३ सम्म हुनुपर्ने विभागको भनाइ छ । 

तोरीको तेलमा रिफ्र्याक्टिभ इन्डेक्स १.४६ देखि १.४६६२ सम्म, स्यापोनिफिकेसन भ्यालु १६८ देखि १७७ सम्म, आयोडिन भ्यालु ९६ देखि ११२ सम्म हुनुपर्छ । स्यापोनिफाई नहुने पदार्थ १२ ग्राम प्रतिकिलोग्राम तेलमा नबढेको, एसिड भ्यालु ६ मिलिग्राम पोटासियम हाइड्रोक्साइड प्रतिग्राम तेलमा नबढेको हुनुपर्छ । 

तर, बिक्रेताहरुले खानेतेलमा २० प्रतिशत सूर्यमुखी र ८० प्रतिशत अन्य तेल मिसाउने गरेको कारण यसको गुणस्तरमाथि र्नै प्रश्न उठेको उपभोक्ताकर्मी बताउँछन् ।

यसबारेमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जनले व्यवसायीहरुले बढी फाइदा लिने उद्धेष्यले तेलमा मिसावट गर्दा उपभोक्ताको स्वास्थ्य माथि नै असर पर्ने गरेको बताए।‘केही सीमित व्यापारीहरुले बढी नाफा कमाउने उदेश्यले मिसावट गर्ने गरेका छन्, यस विषयमा पटक पटक नियामक निकायलाई अनुरोध गर्दा समेत कुनै सुनुवाई भएन’,उनले भने। 

तर विभागका प्रवक्ता मोहन कृष्ण महर्जन भने उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर समय समयमा अनुगमन गर्दै आएको बताउँछन् । उनले भने,‘ ‘ठिक्क मात्रामा मिसावट गर्ने हो भने खासै असर गर्दैन । तर, उपभोक्तालाई झुटो बोलेर बिक्री वितरण गर्नु चाहिं गलत हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved