२४ करोडको खाद्य परीक्षण भ्यान ६ वर्षदेखि अलपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2024 | 04:25:39 PM मा प्रकाशित

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन प्रभावकारी बनाउन करिब ६ वर्षअघि खरिद गरेको मोबाइल भ्यान विभाग परिसरमै बेवारिसेझै गरि थन्किएको छ। खाद्य स्वच्छता अनुगमनका लागि खरिद गरिएको उक्त भ्यान विभागमै थन्किएपछि बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती भेटिने गरेका छन् ।   

बजार अनुगमनलाई प्रभावकारी बनाउने नाममा सरकारले २८ करोड रुपैयाँ खर्चेर ४ वटा मोबाइल भ्यान खरिद गरेको करिब ६ वर्ष भइसकेको  छ। तत्कालिन समयमा होटेल, रेस्टुरा, मिठाई, डेरी उद्योग, पानी उद्योगलगायतमा अनुगमन गर्दा ‘अन द स्पट’ गुणस्तर परीक्षण गर्ने सुविधासहितका भ्यान खरिद गरिएका थिए । 

खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि दैनिक रुपमा बजारमा घुम्नुपर्ने यी मोबाइल भ्यान अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा उपयोग विहिन अवस्थामा छन् ।

आर्थिक वर्ष २०७४/२०७५ मा खरिद गरिएका यी मोबाइल भ्यान विभागले खाद्य गुणस्तर परीक्षणका लागि एक वर्षभन्दा धेरै समय प्रयोग नै गरेन । विभागले भ्यानलाई दैनिक बजार अनुगमनका लागि उपयोगमा ल्याउनु पर्ने उपभोक्ताको भनाइ छ । विभागले अनुगमनलाई बेवास्ता गर्दा बजारभर छ्यापछ्याप्ती अखाद्य वस्तु भने बिक्री भइरहेको छ । उपभोक्ता गुणस्तरहीन र अखाद्य वस्तु उपभोग गर्न बाध्य छन् ।  

यसबारे विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले हाल चार वटा भ्यान भए पनि विभिन्न कारणबस् प्रयोग गर्न नसकिएको बताउँछन् । ‘हामीले भएको भ्यानलाई पनि  प्रयोगमा ल्याउन नसकेको पक्कै हो,जिल्लाको हकमा यी भ्यानले  अनुगमन गर्न सकिन्छ, जिल्ला बाहिर चाहिं असम्भब छ ।  तर लामो समयदेखि भ्यान प्रयोगविहिन भएको कारण समस्या देखिएको छ’,उनले भने।   

उपभोक्ता अधिकारवादिहरु भने राज्यले भएको साधनलाई पनि उपयोग गर्न नसक्दा बजारमा अखाद्य वस्तुको बिक्री बढ्दै गएको बताउँछन् ।  बजारमा खाद्यवस्तुको परीक्षणको लागि ल्याइएको मोबाइल ल्याब विभिन्न बाहनामा विभागमा अलपत्र पारिनु आफैंमा हास्यास्पद रहेको उपभोक्ता अधिकारवादी प्रेमलाल महर्जन बताउँछन् ।  

‘नमूना परीक्षणको लागि ल्याइको भ्यान कबाडि सरह थन्क्याएर राख्नु एकदमै दुखद पक्ष हो । यसतर्फ सम्बन्धीत पक्षले ध्यान दिओस’,  उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved