हज यात्राबाट बचेको रकम यात्रुलाई फिर्ता गर्दै हज समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2024 | 06:09:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरुलाई फिर्ता गर्ने भएको छ ।

रकम फिर्ता गर्नका लागि समिति सचिवालयले सूचना जारी गरेको छ । समितिले यस पटक प्रतिव्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने तयारी गरेको छ ।

समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ । ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौं । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौं । बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिन साउदी सरकार, साउदी स्थित नेपाली दूतावाससँग सहकार्य गरयौं’, उनले भने ।

हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्य सम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यसपटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए ।

नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटिले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोशिस गरेको छु’, उनले भने । 

समितिले प्रतिव्यक्ति ४ लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरेभन्दा खर्च कम भए पछि कमिटिले रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौं । नम्बर प्राप्त भएपछि हामी अनलाईन नै भुक्तानी गरिदिन्छौं’, उनले भने ।

यो वर्षको हज यात्राको लागि नेपालले १ हजार २०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष इश्रा मूल्ला मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले बताए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो । 

आगामी वर्षको हज यात्राको लागि निवेदनको आवहान

हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १ हजार २०० कोटा प्राप्त गरेको हज कमिटिका सदस्य सचिव झंकनाथ ढकालले बताए ।

उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए । आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटिको योजना रहको उनले बताए ।

सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने भएकाले यसलाई छोट्याउन खोजेको उनले बताए । अवधि छोट्याउँदा खर्च पनि कम हुन्छ । साधन र स्रोत कम लाग्ने भएकोले सबैको सल्लाह अनुसार अवधि छोट्याउन लागिएको हो ।

त्यस्तै कमिटिले हज यात्राको कार्यविधिलाई संशोधन गरि हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त ब्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए ।

हज यात्रीको लागि चुस्त मेडिकल टिमको व्यवस्था गर्न आग्रह

नेपाल हज सचिवालयले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ ।  हज यात्रुलाई बसाइको क्रममा त्यहाँको हावापानीका कारण स्वास्थ्य समस्या हुने भएकाले आफनै मेडिकल टिमको व्यवस्था गर्न कमिटिले आग्रह गरेको छ ।

हजमा जाने नेपाली यात्रुमा कतिपय चाहिं पहिलो पटक गाउँ छोडेर बाहिर निस्केका हुन्छन् । साउदीको गर्मी र एसीको कारण नेपाली यात्रीलाई स्वास्थ्य समस्या हुने गरेको कमिटिका प्रवक्ता मिर्जा रासिद बेगले बताए । हजको लागि साउदी जाने प्रत्येक मुलुकसँग छुट्टै मेडिकल टिम नै हुन्छ । यात्रु बस्ने स्थानमा प्रत्येक मुलुकले अस्पताल नै सञ्चालन गरेका हुन्छन् । तर, नेपालले भने त्यस्तो केहि व्यवस्थापन गर्न नसकेको उनले बताए । 

आगामी वर्षदेखि नेपाली हज यात्रीको लागि कम्तिमा पनि चार जनाको मेडिकल टिम र पर्याप्त औषधी उपकरणको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved