इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट तथा सुक्खा बन्दरगाहका प्रणेता आरबी रौनियारको ८० वर्षको उमेरमा निधन भएको छ ।
उनको निधनको खबर भतिजासमेत रहेका फोटोपत्रकार समेत रहेका विकास रौनियारले सामाजिक सञ्जालमा शेयर गरेका छन् ।उनी दुई वर्षयता मुटु तथा क्यान्सर रोगले ग्रस्त थिए ।
काठमाडौंको ओटुबहालमा जन्मिएका उनको शनिबार बिहान ११ : ५० बजे मेडिसिटी अस्पतालमा निधन भएको हो उनमा नेपालको छ दशक लामो व्यावसायिक इतिहास थियो ।व्यवसायी रौनियारलाई नेपालमा इन्टरस्टेट मल्टिमोडल ट्रान्सपोर्ट तथा सुक्खा बन्दरगाहको काम शुरू गर्ने प्रणेताको रुपमा चिन्ने गरिन्छ ।
राणाकालीन समयमा उनका बाजेबराजुहरू कपडा र चाँदीको व्यवसायमा संलग्न थिए । नेपालमा पहिला कपडाको आयात भारतबाट हुने गरेको भएपनि दोस्रो विश्वयुद्धपछि जापान, बेलायत र इटलीजस्ता देशबाट समेत आउन थाल्यो । त्यस क्रममा भारतको कोलकाताबाट सामान क्लियरेन्स गरेर ल्याउन समस्या भयो ।
त्यसपछि आरबीको बाजेकै पालामा कोलकातामा कार्यालय खोली क्लियरिङ र फरवार्डिङको काम शुरू गरिएको केहि समयअघि एउटा अन्तरवार्तामा उनले बताएका थिए । उनले २०१६ सालमा वीरगञ्जस्थित श्रीपुरमा मल कारखाना पनि खोलेका थिए ।