नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक सय ३० बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।
गत असोज १२ गते नारायणी नदीमा आएको बाढीका कारण यहाँका एक सय ३० परिवार प्रभावित भएका थिए । उनीहरुलाई दसैँ मनाउन सहज होस् भनी खाद्यान्न सहयोग गरिएको उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले बताए। सबैको घरमा दसैँको रमाइलो भइरहेको अवस्थामा बाढीपीडितलाई खाद्यान्नसमेत् नभएका कारण सहयोग गरिएको उनको भनाइ छ ।
भट्टचनका अनुसार बाढीपीडितलाई प्रति परिवार आठ किलो पाँच सय ग्राम चामल, दुई किलो मुसुरोको दाल, एक लिटर सूर्यमुखीको तेल र सात प्याकेट चाउचाउ दिइएको छ । एक सय ३० परिवारलाई रु चार लाख बराबरको खाद्य सामग्री सहयोग गरिएको भट्टचनले बताउनुभयो । खाद्य सामग्री जय श्री फुड्स प्रालि एवम् गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले सहयोग गरेको उनले जानकारी दिए ।