यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।
चालु आर्थिक वर्षको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए । चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो, उनले भने, साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ ।
मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उनीहरूको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ, उनले भने, त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ । गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।