हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन

रासस

रासस

Nov 10, 2024 | 06:51:27 PM मा प्रकाशित

laxmi sunrise bank

हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज आइतबार नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो ।

महङ्गो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताए । नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उनले चिन्ता व्यक्त गरे ।

सांसद बजगाईंले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि साङ्केतिक दबाबका लागि पनि प्रदर्शन गरिएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि शनिबार नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिएको मात्रै हवाई भाडा लिन र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन निर्देशन दिएको थियो ।

हवाई भाडा नियन्त्रणका सम्बन्धमा प्राधिकरण, अन्तर मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले पाँचबुँदे सहमति गरेको थियो ।यही कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौती भएपछि एयरलाइन्सहरुले महङ्गो हवाईभाडा लिएको गुनासो आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved