बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणको लागि जर्मनी सरकारले सहयोग गर्ने भएको छ । जर्मन सहयोग नियोग (जीआइजेड)मार्फत काठमाडौंस्थित जर्मनीको दूतावासले एक करोड ४५ लाख रुपैयाँ रकम सहयोग गर्ने नगरप्रमख अशोक ब्याञ्जूले बताए । हालै नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भएको भेटवार्तामा उनले खानेपानी आयोजनाको मर्मतसम्भारका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आगामी केही दिनमा सहयतासम्बन्धी द्विपक्षीय सम्झौतासँगै रकम निकासा हुने नगप्रमुख ब्याञ्जूले जानकारी दिए । उक्त आयोजना पुनर्निर्माण गर्न तीन करोड ५१ लाख रुपैयाँ खर्च हुने उनको अनुमान छ ।
जर्मनीबाट प्राप्त हुने रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनर्निर्माण गरिनेछ । गत महिनाको बाढीले आयोजनामा क्षति हुँदा नगरका ३, ४, ५, ६ र ८ नम्बर वडाका उपभोक्ता खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।