नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै कुलमानले उद्योगीहरूले जानीजानी बक्यौता विवाद खडा गरेको आरोप लगाएका हुन् ।
उद्योगीहरूलाई पुग्ने जति प्रोडक्ट उत्पादन गर्ने र बक्यौता रकम जानाजानी नतिरेर उद्योग बन्द गराउन प्राधिकरणलाई बाध्य बनाएर विवादमा तान्ने काम गरेको कुलमानको आरोप छ । साथै, आफुले सही बिल पठाउँदा पनि उद्योगीहरूले रसिद र चिठी मात्र पठाएको भन्दै बक्यौता रकम नतिरेको कुलमानको आरोप छ ।
त्यस्तै, पछिल्लो समय उद्योगीहरूले बक्यौता रकम नतिरेका कारण सर्वसाधारण नागरिक तथा अन्य उद्योगहरूले नियमित बिल तिर्न नमानेकाले प्राधिकरणलाई आर्थिक हानी भएको आरोप कुलमानले लगाएका छन् । कुलमानले सरकारका सबै निकायहरूले बक्यौता उठाउन भनेकाले आफुले मन्त्रिपरिषद र सञ्चालक समितिको निर्णयअनुसार लाइन जोेड्ने र १५ दिन भित्र बक्यौता रकम उठाउने तर बक्यौता रकम नउठे लाइन काट्ने बताए ।
तर, मन्त्रिपरिषद् र आयोगले भने जस्तै, टाइम्स अफ डे (टिओडी) मिटरको आधारमा नभइ पुरानै बिलको आधारमा बक्यौता उठाउने पुरानै अडान कुलमानले दोहोर्याएका छन् ।
आफुले अहिलेसम्म पठाएका बिल सही भएकाले त्यही अनुसार नै बक्यौता रकम उठाउने कुलमानले बताएका छन् । उद्योगीलाई बिल पठाएको कि रसिद भन्ने बिजपाटीका पत्रकारको प्रश्नमा आफुले बिल नै पठाएको तर उद्योगीहरूले त्यसलाई चिठी र रसिद भनी हल्ला फैलाएको कुलमानले आरोप लगाए ।