निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच सम्झौता भएको छ । बुधबार लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
उक्त सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र जीवन विकासको नायव प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै जीवन विकास लघुवित्त वित्तीय संस्थाले लघु व्यवसायका लागि सदस्यहरुलाई बिना धितो व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रति व्यक्ति रु १० लाखसम्म, धितो जमानीमा लगानी गरेको प्रति व्यक्ति रु २० लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। उक्त कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा संस्थाले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी दिनेछ।
यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक शून्य दशमलव आठ प्रतिशत रहेको छ, जसमध्ये पचास प्रतिशत मात्र जीवन विकासले कोषमा बुझाउने र बाँकी सुरक्षण शुल्क रकम नेपाल सरकारबाट अनुदान स्वरुप कोषमा प्राप्त हुनेछ । यस प्रकार बुझाउने सुरक्षण शुल्क बाँकी कर्जामा गणना गर्ने व्यवस्था कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छ ।