रास्वपाले खाता खोल्दा माओवादी रित्तो, कांग्रेसले तीन ठाउँ जित्दा दुईमा एमाले

रासस

रासस

Dec 02, 2024 | 08:34:44 AM मा प्रकाशित

laxmi sunrise bank

स्थानीयतह निर्वाचन : काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ ,कीर्तिपुर–१ र  राजपुर – ६ मा कांग्रेस तथा सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमालेको उम्मेदवार विजयी

आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१  को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी भएकी छन्।

आइतबार सम्पन्न उपनिर्वाचनमा उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले  दुई हजार दुई सय २०  मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । 

त्यस्तै, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरेका थिए।  यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गरेका थिए । 

हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र ) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिए। यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार  निर्वाचित भएका थिए ।

रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेको  मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।  

रौतहट राजपुर नगरपालिका ६ को वडाध्यक्ष पदमा  नेपाली कांग्रेसका उम्मेदवार समसे आलमले सात सय ४४ मत प्राप्त गरेर निर्वाचित भएका छन्। उनका  प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का जिकरुल्लाहले चार सय ६३ मत प्राप्त गरेको  जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए। 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved