बैतडीको झुलाघाटमा मोटरेवल पुल सहितका परियोजना निर्माणको पहल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2024 | 03:33:05 PM मा प्रकाशित

laxmi sunrise bank

भारत भ्रमणको क्रममा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गरेका छन् । मन्त्री भण्डारीले भारतीय विदेश मन्त्री यश जयसंकर सँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गरेका हुन् ।

विदेश मन्त्री जय संकरले पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाएका छन् । मन्त्री भण्डारीको गृह जिल्ला समेत रहेको बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण भएमा बैतडीका साथै सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरुका लागि व्यापार तथा पर्यटन प्रर्वधन हुने बताइएको छ । उक्त क्षेत्रमा आवतजावत सहज भएमा नेपाली उत्पादनले बजार पाउनुका साथै उपभोग्य बस्तुहरु सुलभ मुल्यमा प्राप्त गर्न सजिलो हुनेछ ।  

भारत भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानका विषयमा पनि छलफल गरेका छन् । यसका साथै कञ्चनपुर स्थित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको छ । 

मन्त्री भण्डारीले गत साउनमा पहिलो पटक भारत भ्रमण गर्दा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन निर्माणको पहल गरेका थिए । फलस्वरूप भारतले नेपाललाई उक्त परियोजनाका लागि १५ अर्ब रकम अनुदान दिन औपचारिक रूपमा सहमति गरेसँगै परियोजना निर्माणको काम अघि बढेको छ । अहिले उक्त परियोजनामा नेपाल र भारत पक्षले आ–आफ्नो तहबाट काम गरिरहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । 

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको  २९औं साझेदारी शिखर सम्मेलन सहभागी भएका मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’ सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेका बताएका छन् ।

उनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताए। मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गरे ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved