वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै बंगुरपालन

रासस

रासस

Jan 16, 2025 | 12:46:57 PM मा प्रकाशित

laxmi sunrise bank

इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङका पुजन र लक्ष्मी प्रधानको जोडी वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै स्वरोजगार बनेका छन्। ६ वर्ष साइप्रस बसेर गाउँ फर्किएका उनीहरुले ३० लाख रूपैयाँ लगानीमा बंगुरपालन सुरु गरेको सात महिना भयो। ‘लक्ष्मी पशुपालन बंगुर फार्म’ दर्ता गरेर सुरु गरिएको व्यवसायमा आम्दानी सुरु हुन अब तीन महिना लाग्छ।

“अहिले ४२  बंगुर छन्। पाठा हालेको सात महिना भयो। अब तीन महिना पालेपछि बिक्री गर्न सकिन्छ,” लक्ष्मीले भनिन्, “पाठा हुर्किदै जाँदा लगानी बढ्दै गएको छ तर, बजार भाउ राम्रो छ। बेच्न समस्या हुँदैनु, राम्रो स्याहार पुगेको एउटा बंगुर सामान्यतया एक क्विन्टल (एकसय केजी) हुने उनले बताइन्। इलामका बजारमा बंगुरको मासु हाल प्रतिकेजी र पाँच सयदेखि छ सयसम्म बिक्री भइरहेको छ।

पशुपालन मात्रै होइन। पुजनका दुईवटा यात्रु गाडी छन्। फार्ममा लक्ष्मीसहित अन्य दुईजना खट्छन् भने पुजन गाडी लिएर जान्छन्। “नामसालिङबाट सदरमुकाम हुँदै झापासम्म जाने र फिक्कल बजारसम्म जाने दुई वटा प्यासेन्जर गाडी छन्ु, पुजनले भने, “एउटा चाहीँ आफैँ चलाउँछु। अर्को चलाउने साथी हुनुहुन्छ।”

एउटा नभए अर्को त पक्कै हुन्छ भनेर पशुपालनसँगै यातायात व्यवसाय पनि थालिएको उनी बताउँछन्। “बंगुरपालन असफल भए गाडी चलाएर जिउन सकिन्छ। तर, हाल दुवै व्यवसाय सफल नै छन्। विदेश जान मन छैन। स्वदेशमै राम्रो गर्न सकियोस् भन्ने लागेको छ,”उनले भने।

गतवर्ष गाउँमा आमा बिरामी परेपछि दुवैजना स्वदेश फर्किएको लक्ष्मीले बताइन्। “रोगले आमा बित्नुभयो। त्यसपछि विदेश जाने मन भएन। गाउँमै स्वरोजगार बन्ने सोचले पशुपालन सुरु गरेका हौँ,” उनले भने, “पुर्खाले पनि बंगुर त पालेकै हुन्। तर, व्यावसायिक बन्न नसक्दा सधैँ निर्वाहमुखी हुनुपर्‍यो। विदेशमा पैसा कमाएर सहरमा घर किन्नुभन्दा गाउँमै व्यवसाय गर्दा अरुलाई पनि प्रोत्साहन मिल्छ भन्ने लाग्छ।”

स्थानीय तहमै उद्यम गर्न चाहनेलाई प्रोत्साहन तथा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेको भनाइ छ। पुजन र लक्ष्मीले सुरु गरेको बंगुरपालन कर्मले गाउँलाई व्यावसायिक बन्नुपर्छ भन्ने कुरामा प्रोत्साहित गरेको भन्दै गाउँपालिका अध्यक्ष थेबेले सकेसम्म आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन्। “पालिकाभित्र व्यवसाय सञ्चालन गरी व्यवसायी र आत्मनिर्भर बन्न चाहेमा सहयोग गर्छौँ,” उनले भने।

जिल्लामा पशु तथा पशुजन्य पदार्थको माग बढिरहेको अवस्थामा खाद्य सुरक्षा तथा पौष्टिक आहाराको सुनिश्चितताका लागि एकीकृतरूपमा पशुपालन व्यवसायको विकास अपिहार्य भएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताइन्।

पाल्तु पशुमध्ये मासु उत्पादनका लागि बंगुरपालन व्यवसायबाट छोटो अवधिमा उच्चस्तरको मासु उत्पादन गर्न सकिने माईजोगमाईका पशु प्राविधिक प्रदीप गुरुङले बताए। “बंगुरपालन व्यवसायबाट अन्य पशुपक्षीको दाँजोमा मुनाफाको प्रतिफल सबैभन्दा बढी पाइएको छ। उदाहरणका लागि दुग्ध व्यवसायमा लगानीको दाँजोमा मुनाफाको प्रतिफल १० प्रतिशत, कुखुरामा ३० प्रतिशत, खसीबाख्रामा २५ प्रतिशत हुने गरेको छ जबकी बंगुरपालन व्यवसायबाट लगानी गरेको प्रतिफलको ६० प्रतिशतसम्म पाइएको छ, गुरुङले भने।

मासुको रूपमा बंगुरको प्रायः सबैजसो अंगको परिकार बनाएर खाइने गरेको छ। बंगुरको मासुबाट बनाइने विभिन्न परिकारमा ससेज, ब्याकन, ह्याम आदि बनाइने होटल व्यवसायी सोम सुनुवारले बताएका छन्। बंगुरको मासुमा उच्च श्रेणीको प्रोटिन, भिटामिन, खनिज, फ्याट र मेटाबोलिक इनर्जीको मात्रा धेरै भएकाले मासु एक सन्तुलित आहारा भएको चिकित्सक सरोज दर्नालले बताए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved