सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2025 | 02:38:54 PM मा प्रकाशित

laxmi sunrise bank

सुनकोशी नदीमा आएको विनासकारी बाढीले पुर्याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् । 

कानुनतः नदीको बालुवा डोजर प्रयोग गरेर निकाल्न पाइँदैन । त्यस माथि यस वर्ष बाढीले सुनकोशी नदी तटीय क्षेत्रमा ठुलो क्षति गरेको छ । आउने दिनमा नदीले गर्न सक्ने क्षतिको प्राविधिक अध्ययन नगरी धमाधम डोजर प्रयोग गरेर नदी भित्रको बालुवा निकाल्न लागिएको छ । 

गएको असोज ११ र १२ गतेको वर्षाले सुनकोशी नदीमा भीषण बाढी आयो । सो बाढीले रामेछाप र सिन्धुली जोड्ने दुईवटा पक्की पुल नै बगाइदियो भने धेरै झोलुङ्गे पुलहरू समेत बगायो । नदी किनारका लुभु, नेपालथोक, सित्खा, मुलकोट, खुर्कोट लगायतका फाँट र ती फाँटका मानवबस्तीमा बाढीले ठुलो क्षति पुर्यायो । 

असोजको बाढीले रोशी र सुनकोशी नदी तटीय क्षेत्रमा क्षति पुर्याउनुको मुख्य कारण थियो नदी र खोला किनारमा अस्वाभाविक रूपमा गरिएको प्रकृतिको दोहन र क्रसरहरूले थुपारेको माटो अनि बालुवा बाढीको कारण नदी तटीय क्षेत्रका स्थानीयले कहालीलाग्दो पीडा बेहोरे । पाक्न लागेको धान खेत बगायो । कतिपका घर नै बगायो । स्थानीयहरू घरबास विहीन भए । 

यी सबै कुराको बेवास्ता गर्दै अहिले पुन क्रसर व्यवसायीहरूले नदीबाट बालुवा झिक्न सुरु गरेका छन् । किनारको बालुवामा बाढीको कारण माटो मिसिएको कारण नदी भित्रै डोजर लगाएर बालुवा निकाल्न सुरु गरिएको छ । यसले नदीको संरचनामा असर गरी आउने वर्षा याममा अझ ठुलो क्षति पुर्याउने निश्चित छ । 

‘कानुनतः ढुङ्गा, गिट्टी, बालुवा लगायत स्थानीय प्राकृतिक स्रोतको संरक्षण र उपयोग गर्ने अधिकार स्थानीय सरकारको हो । त्यस हिसाबले यो बालुवा र ढुङ्गाको संरक्षण तथा उपयोगको अधिकार सिन्धुलीको सुनकोशी गाउँपालिकालाई छ । तर स्थानीय सरकारको बेवास्ता हो वा स्थानीय सरकार माथि गरिएको बल मिच्याईँ हो, नदीको जलप्रवाहलाई नै प्रभाव पार्ने गरी नदी भित्रबाट बालुवा निकाल्दा पनि स्थानीय सरकारले केही गर्न सकेको छैन्,’ स्थानीय एक अगुवाले भने ।               

रोशी खोला र सुनकोशी नदीमा जथाभाबी गरिएको ढुङ्गा र बालुवा उत्खनन् तथा थुपारिएको माटोको कारण सुनकोशी नदीले अकल्पनीय क्षति पुर्याएको सिन्धुलीको सुनकोशी गाउँपालिकाको ओल्लो तटीय क्षेत्रमा रहेको रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । सुनकोशीले गर्ने क्षति नियन्त्रणको लागि रामेछाप र सिन्धुली दुवै जिल्लाले मिलेर काम गर्नुपर्ने उनले बताए ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved