
सजिलो राइड सेयरिङ एपले कोलाबोरेटिभ क्याटालिस्ट प्रालिसँगको साझेदारीको औपचारिक घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सजिलोको मिशनलाई अगाडि बढाउन र कोष सुरक्षित गर्न साझेदारी गरिएको सिइओ अमिर लामाले बताए ।
यसको साथै, क्याप्टेन विजय लामालाई सजिलोको सह–संस्थापकको रूपमा पनि परिचित गराए । उनको संलग्नताले उत्कृष्टता र नवीनता प्रदान गर्ने सजिलोको मिशनलाई बलियो बनाउने सजिलो राइड सेरिङ् एपका सिइओ लामाले बताएका छन् ।
सजिलोले नवप्रवर्तन, दिगोपन र प्रयोगकर्ता–केन्द्रित समाधानहरूलाई प्राथमिकता दिएर नेपालमा सवारी साझेदारीलाई पुनः परिभाषित गर्न, भरपर्दो, किफायती र सुरक्षित यातायात विकल्पहरू सिर्जना गर्न सामाजिक प्रभाव बढाउँदै र चालकहरूलाई सशक्तिकरण गर्दै अगडि बढ्ने योजना राखेको छ ।
सजिलो कोषः यात्रु र चालकका लागि सहयोग
सजिलोले “सजिलो कोष” नामक पहल सार्वजनिक गरेको छ, जसमा यात्रुले तिरेको कमिसनको १० प्रतिशत कोषमा जम्मा गरिनेछ। यस कोषमार्फत चालक र यात्रु दुवैलाई आकस्मिक परिस्थितिमा सहयोग पुर्याउने उद्देश्य राखिएको छ। कोषमार्फत उपलब्ध सेवाहरूमा बीमा सुविधा, दुर्घटना क्षतिपूर्ति, औषधोपचार खर्चमा सहयोग र आकस्मिक समस्यामा समाधानका लागि कोष प्रयोग गरिनेछ।
विशेष सुविधाहरूले सजिलोलाई बनायो अग्रणी
सजिलोले निम्न विशेषताहरू पनि प्रस्तुत गरेको छः
निःशुल्क बीमाः प्रत्येक राइडमा पूर्ण बीमा सुविधा उपलब्ध गराउने।
यात्रा रद्द कभरेजः बाइकका लागि रु. ५० र क्याबका लागि रु. १००
ग्राहक प्रोमो छुटः हरेक यात्रामा रु. ४० छुट र थप रु. १० खल्तीमा जम्मा।
लामो दूरी पिकअप बोनसः बाइकका लागि प्रति किलोमिटर रु. १५ र क्याबका लागि प्रति किलोमिटर रु. ३५
भविष्यका योजनाहरू
सजिलोले आफ्नो सेवा देशभर फैलाउने योजना बनाएको छ। यसका प्रमुख योजनाहरूमा समावेश छस्
जियो(आधारित भाडा प्रणालीः उचित र पारदर्शी भाडा सुनिश्चित।
राइडरद्वारा बुक गर्ने सुविधाः चालकको खाली राइड कम गर्ने।
एआई प्रविधि प्रयोगः रियल टाइम ठगी पत्ता लगाउने, मार्ग अनुकूलन र माग विश्लेषण।
नेपाली नक्साः सजिलो र स्थानीय नेभिगेसनका लागि।
कारपूलिङः साझा राइड सुविधा।
सजिलोले आगामी दिनमा लामो दूरीको राइड, एयरपोर्ट पिकअप, पार्सल डेलिभरी र खाना डेलिभरीजस्ता सेवाहरू पनि विस्तार गर्ने लक्ष्य राखेको छ।
कमिसन संरचना
सजिलोले फाल्गुन १ देखि बाइकका लागि १० प्रतिशत र क्याबका लागि ६ प्रतिशत कमिसन लागू गर्ने घोषणा गरेको छ। रात्रीकालीन अतिरिक्त भाडामा कुनै कमिसन नलाग्ने व्यवस्था गरिएको छ।