
मकवानपुरको सहरी विकास तथा भवन कार्यालय हेटौँडाले सञ्चालन गरेका अधिकांश बहुवर्षीय योजना अन्तिम चरणमा पुगेका छन्। नियमित अनुगमन र निगरानीका कारण योजनाहरू तीव्र रूपमा अघि बढेको कार्यालयका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिएका छन्।
हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बागमती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको तयारीमा छ। २०८०/८१ मा सम्झौता भई निर्माण सुरु भएको प्रदेशसभा हलको निर्माण कार्य पुस महिनामा नै सम्पन्न भइसकेको छ। तीन करोड ५३ लाख ६१ हजार ५८३ रुपैयाँ लागतमा निर्माण भएको हलमा सभामुख, उपसभामुखका कार्यकक्ष, पत्रकार र पर्यवेक्षकका लागि छुट्टै कक्ष निर्माण गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको ९९ प्रतिशत काम सकिएको छ। पाँच करोड २६ लाख ८३ हजार ३५९ रुपैयाँ लागतमा निर्माण भइरहेको यो सभाहल २०८१ चैत महिनासम्ममा पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको छ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१ स्थित हेटौँडा अस्पताल भवनको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। २६ करोड ६४ लाख २५ हजार २८० रुपैयाँ लागतमा निर्माण भइरहेको अस्पताल भवन २०८१ फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
चितवनमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय र भूमिगत जलस्रोत कार्यालयको भवन निर्माण कार्य पनि चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी तीव्र गतिमा भइरहेको छ। यी योजनाहरूको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ।
चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्कको करिब ९५ प्रतिशत काम सम्पन्न भएको छ। सात करोड ६ लाख ९६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको यो पार्क २०८१/८२ को असारसम्ममा पूरा गर्ने लक्ष्य राखिएको छ।
रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ। यो भवन नौ करोड ५८ लाख ८६ हजार रुपैयाँ लागतमा निर्माण भइरहेको हो।
प्रमुख इञ्जिनियर अधिकारीले बहुवर्षीय योजनाहरूमा बीचमा केही ढिलाइ भए पनि निर्माण कम्पनीहरूसँगको समन्वयमा सम्झौता अवधिभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भइरहेको जानकारी दिएका छन् । यसै आर्थिक वर्षभित्र धेरै योजनाहरू पूरा हुने अपेक्षा गरिएको छ।