म्याग्दीको बाँसखर्कमा सुन्तला महोत्सव: अतिथिलाई सुन्तलाको माला, सुन्तला नै उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2025 | 09:30:55 AM मा प्रकाशित

laxmi sunrise bank

म्याग्दी जिल्लाको बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव आयोजना गरिएको छ। महोत्सवले सुन्तला खेतीको सम्भावना उजागर गर्नुका साथै कृषकका समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधिको प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रदर्शनी, उत्कृष्ट कृषकलाई सम्मान, र मौलिक सांस्कृतिक प्रस्तुति गरिएको थियो। अतिथिलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तला उपहार स्वरूप प्रदान गरिएको थियो।

कार्यक्रममा अगुवा कृषक जगतबहादुर खत्री, शान्तबहादुर छिन्तेल, हेमकुमार अर्मजा, तेजबहादुर खत्री र नरबहादुर पाइजालाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार महोत्सवले कृषि पर्यटन प्रवर्द्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। महोत्सवको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषिमन्त्री पद्यमा जिसी श्रेष्ठ, पर्यटनमन्त्री मित्रलाल बस्याललगायतले कृषकका समस्या प्रत्यक्ष रूपमा सुनेका थिए।

मुख्यमन्त्री पाण्डेले बाँसखर्क जोड्ने सडक, सिँचाइ र सुन्तला ढुवानीमा सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै जलजला गाउँपालिकाका लागि यस आर्थिक वर्षमा रु ११ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तारका लागि अनुदानसहितका योजनाहरू कार्यान्वयन गरिने बताए। 

बाँसखर्कका कृषकले यस वर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन गरेका छन्। अगुवा कृषक मेखबहादुर खत्रीका अनुसार एक कृषकले वार्षिक ४ लाखदेखि ३५ लाख रुपैयाँसम्मको सुन्तला बिक्री गर्ने गरेका छन्।

सुन्तला महोत्सवले बाँसखर्कलाई कृषि पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न योगदान पु¥याएको छ। साथै, कृषकका समस्या समाधान र सुन्तलाको बजारीकरणमा सरकारी निकायको ध्यानाकर्षण गराउन महत्वपूर्ण भूमिका खेलेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved