
आइसिएफसि फाइनान्स लिमिटेड र नेबुला मोबिलिटी–गोगोरोबीच विद्युतीय स्कुटर खरिदका लागि ऋण सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार अब नेबुला मोबिलिटीको गोगोरो स्कुटर खरिद गर्ने ग्राहकहरूले आइसिएफसि फाइनान्सबाट सहज ऋण सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा हस्ताक्षर गर्दै आइसिएफसि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले वित्तीय सुविधा विस्तार गर्दै सस्तो तथा दिगो यातायात प्रवर्द्धन गर्न योगदान दिने बताए। उनले गोगोरो स्कुटरको प्रयोगले इन्धन खपत घटाउन र आर्थिक उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
त्यस्तै, नेबुला मोबिलिटीका अध्यक्ष मनोज कुमार गोयलले ऋण पहुँच सहज हुनाले विद्युतीय सवारीको प्रयोगलाई थप प्रवर्द्धन गर्ने बताए। गोगोरो स्कुटरमा ब्याट्री स्व्यापिङ सुविधा भएकाले ग्राहकहरूलाई बारम्बार चार्ज गर्ने झन्झटबाट मुक्त गराउने उनको भनाइ छ।
यस सम्झौताले डिजिटल तथा हरित यातायात प्रवर्द्धन गर्दै नेपालमा स्वच्छ, दिगो, र किफायती यातायात प्रणालीको विकासमा योगदान दिने अपेक्षा गरिएको छ।