भरतपुर महानगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो वर्ष उत्कृष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2025 | 11:26:30 AM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन मा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। देशभरका अन्य छ महानगरपालिकालाई पछि पार्दै भरतपुर महानगर पहिलो स्थानमा उक्लिएको हो। यो आर्थिक वर्ष समेत लगातार तीन वर्षसम्म उत्कृष्ट पालिका घोषित हुने सफलता महानगरपालिकाले प्राप्त गरेको छ।

महानगरका उप-निर्देशक जगन्नाथ अर्याल का अनुसार, संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान कार्यसम्पादन मूल्याङ्कनको आधारमा वृद्धि गर्नेछ। आयोगले १७ वटा सूचकहरूको आधारमा मुल्याङ्कन गर्दा भरतपुर महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ।

आयोगले मुल्याङ्कन गर्ने सूचकहरूमा पालिकाले गरेको खर्च, बेरुजुको अवस्था, लेखा परीक्षणको नतिजा, स्थानीय सञ्चित कोषको व्यवस्थापन, आवधिक योजना निर्माण, राजस्वको उचित विभाजन, बजेट पारित गर्ने प्रक्रिया, तथा कर संकलनको प्रभावकारिता रहेका छन्। विशेष गरी, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर लगायतका राजस्वको उचित व्यवस्थापन र प्रदेश सरकारलाई मासिक रूपमा ४० प्रतिशत राजस्व हस्तान्तरण गरेका आधारमा महानगरको कार्यसम्पादन मूल्याङ्कन गरिएको हो।

यस वर्ष भरतपुर महानगरपालिकाले ७६.२ प्रतिशत अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको छ। अन्य महानगरहरूको अंक विवरण यसप्रकार रहेको छ:

विराटनगर महानगर – ७३.५ प्रतिशत

ललितपुर महानगर – ६६.७ प्रतिशत

काठमाडौं महानगर – ५४.३ प्रतिशत

पोखरा महानगर – ५१.५ प्रतिशत

वीरगञ्ज महानगर – ४३.१ प्रतिशत

चितवन जिल्लाका अन्य सात पालिकाहरूमध्ये पनि भरतपुर महानगर अग्रस्थानमा रहेको छ। इच्छाकामना गाउँपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७०.१ प्रतिशत, माडी नगरपालिकाले ६९.१ प्रतिशत, खैरहनी नगरपालिकाले ६६.८ प्रतिशत, कालिका नगरपालिकाले ६४.३ प्रतिशत, र राप्ती नगरपालिकाले ४३.३ प्रतिशत अंक प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल ले सहरी पूर्वाधार, खेलकुद, तथा न्यायिक समिति मार्फत सेवा प्रवाहमा महानगर सधैं उत्कृष्ट रहँदै आएको दाबी गरिन्। उनले महानगरको सफलताका लागि योगदान गर्ने जनप्रतिनिधि, कर्मचारी, र महानगरवासीलाई धन्यवाद दिँदै, यो सफलता महानगरवासीका लागि गौरवको विषय भएको उल्लेख गरिन्।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved