
सत्तारुढ दलको बैठकमा अध्यादेशबारे एउटा सहमती जुटेको छ। आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारमा संलग्न शीर्ष नेताको बैठकमा अध्यादेशबारे एउटा सहमती जुटेको हो।
अहिलेलाई ६ वटा मध्ये पाँचवटा मात्रै अध्यादेश दुवै सदनमा पेश गर्ने र त्यसमा सत्तारुढ दल सबैले साथ दिनेगरी सहमती जुटेको बैठकमा सहभागी एक सदस्यले बिजपाटीलाई बताए।
उनकाअनुसार भुमि सम्बन्धी अध्यायदेशलाई थाती राखेर अरु पाँचवटा अध्यायदेशमा सहमती जुटेको छ। पर्सि अर्थात सोमबार दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा पाँचवटा अध्यादेश पेश हुने र त्यसमा सत्तारुढ दल सबैले सघाउने सहमती भएको छ।
त्यस्तै, ती सदस्यकाअनुसार संविधान संशोधन गर्न तुरुन्तै कार्यदल बनाउनेबारे पनि सहमती जुटेको छ। उनले कार्यदल बनाउने निर्णय भइसकेकाले अब चरणबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गरे।
चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताएका छन्। “आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रुपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उनले भने।
एक प्रश्नको जवाफमा उनले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरुसँग पनि सहमति जुटेको जानकारी दिए । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उनको कथन थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए।
सरकारले अध्यायदेश मार्फत ल्याएका उद्योग व्यवसाय तथा अन्य आर्थीक कारोबारसंग जोडिएका कानुनी व्यवस्थालाई निजि तथा सम्बन्धित क्षेत्रले प्रशंसा गरेपनि सत्तारुढ दलभित्रैकै खिचातानीले अध्यायदेश स्वीकृत नहुने अवस्था बनेको थियो। तर अन्तिममा अहिलेलाई विवादमा तानिएको भुमी सम्बन्धी अध्यायदेशलाई थाती राखेर पाँचवटा अध्यादेश अघि बढाउने भएपछि सहमती जुटेको हो।