केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले लामो समयदेखि भुक्तानी नपाएका दुग्ध उत्पादक किसानलाई तत्काल रकम उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।
सङ्घको हिजो र आज सम्पन्न छलफलपछि सात बुँदे चितवन अवधारणा पत्र जारी गर्दै निजी डेरी उद्योग र दुग्ध विकास संस्थानबाट कृषकलाई बक्यौता भुक्तानी गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय दुग्ध विकास बोर्डलाई सहजीकरण गर्न अनुरोध गरिएको छ।
सङ्घले किसानहरूलाई भुक्तानी नदिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ। साथै, कृषि विकास मन्त्रालय र सङ्घबीच भएको ११ बुँदे समझदारी कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ।
सङ्घले दुग्ध विकास संस्थानको पुनःसंरचना र किसानलाई दुध उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ।किसानहरूले लामो समयदेखि रकम नपाउँदा आर्थिक संकट झेल्नुपरेको भन्दै सरकार र सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने दबाब बढाएका छन्।