नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो।
हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख रहेका थापा आईजीपीका लागि वरीयतामा पहिलो स्थानमा थिए। प्रतिस्पर्धामा रहेका अन्य एआईजीहरू सुदीप गिरी दोस्रो र टेकबहादुर तामाङ तेस्रो स्थानमा थिए। मन्त्रिपरिषद्को निर्णयसँगै थापा ८ महिने कार्यकालका लागि नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।
थापा प्रहरी सेवामा अनुशासित र व्यावसायिक अधिकृतका रूपमा परिचित छन्। उनले विभिन्न जिल्लामा प्रहरी प्रमुखको रूपमा काम गर्दै आएका थिए। उनी इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुडा, प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, साथै रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनका प्रहरी प्रमुख भइसकेका छन्।
थापाले प्रहरी संगठनभित्र अपराध अनुसन्धान, सुशासन प्रवर्द्धन र सुरक्षा व्यवस्थालाई व्यवस्थित गर्ने लक्ष्य अघि सारेका छन्। प्रहरीको बुटवल तालिम केन्द्र, प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालय लगायत विभिन्न शाखामा उनको अनुभव छ।
हालका आईजीपी वसन्त कुँवरको ३० वर्षे सेवा अवधि पूरा भएपछि थापा प्रहरी प्रमुख बनेका हुन्। कुँवरसहितको पहिलो लटमा थापा अटाएका थिएनन्, तर दोस्रो चरणमा नियुक्त भएर प्रहरी सेवामा प्रवेश गरेका थिए।
नयाँ आईजीपीका रूपमा थापाले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउने र शान्ति सुरक्षालाई अझ बलियो बनाउने रणनीति लिने अपेक्षा गरिएको छ। सरकारको निर्णयपछि थापा चाँडै पदबहाली गर्नेछन्।