काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार देखि जारी २६ औँ फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ । चौथो दिनसम्म एक करोड दश लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको मेला संयोजकले बताएका छन् ।
चौथो दिन मेलामा १० हजार भन्दा धेरैले अबलोकन गरेका छन् भने अन्तिम दिनमात्र २१ लाख ८० हजारको कारोबार भएको छ । सोमबार सम्म चलेको यो पुष्प मेला अवधीभरमा ५९ हजार बढीले अवलोकन गरेको र एक करोड १० लाख रुपियाँ भन्दा बढीको कारोवार कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)का बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक राम बहादुर तामाङ (सुनिल) ले जानकारी दिएका छन् ।
मेलामा व्यावसायिक ६७, ल्याण्डस्केपिङ एक, अफिसियल दश, प्रतियोगितात्मक प्रदर्शनी दुइ र फूडस्टल ३ वटा सहित जम्मा ८३ वटा स्टल रहेका थिए । मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क तोकिएको र जेष्ठ नागरिकहरुलाई भने निशुल्क पवेशको व्यवस्था गरिएको थियो ।
४ दिने मेला अवधीमा बागमती प्रदेश सरकार कृषि तथा पशुपंक्षी मन्त्री प्रकाश श्रेष्ठ, बागमती प्रदेश सरकारका बन तथा बाताबरण मन्त्रीले समेत मेला अबलोकन गरेका थिए । यसैगरी बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्य, कृषि सचिब गोबिन्द प्रसाद शर्मा लगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले पनि मेला अवलोकन गरेका थिए ।
एक्स्पोमा आलंकारिक बोटबिरुवा, सिजनल फूल बिरुवाहरु, सुनखरीका फूल बिरुवाहरु, फलफूलका बोटबिरुवाहरुको कारोबार भएको कार्यक्रम संयोजक तामाङले जानकारी दिए । मेलामा फूलप्रेमी तथा अवलोकनकर्ताको भीड बाक्लो भएका कारण सोचेअनुरुपनै कारोबार भएकोमा आफू उत्साहित बनेको र अर्को बर्ष गरिने मेला अन्तराट्रियस्तरको गरिने योजना रहेको जानकारी दिए ।