बैतडीको सुर्नया गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच खाद्यान्न ढुवानी, रैथाने बाली खरिद तथा बजारीकरणका लागि सम्झौता भएको छ।
खाद्य सङ्कटग्रस्त क्षेत्रमा खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले भएको सम्झौताअनुसार गाउँपालिकामा खाद्यान्न बिक्री तथा खरिद कक्ष स्थापना गरिने छ। सम्झौतामा खाद्यान्नको भण्डारण, ढुवानी, बिक्री तथा बजार व्यवस्थापन गर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताएका छन्।
दुर्गम क्षेत्रका नागरिकलाई नियमित खाद्यान्न उपलब्ध गराउन नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष सञ्चालन गरिने बताइएको छ। खाद्यान्नको सहज उपलब्धता, आपूर्ति तथा बजार मूल्य स्थायित्वका लागि गाउँपालिका र कम्पनीबीच सहकार्य हुने रोजगार संयोजक सुरेन्द्रसिंह धामीले बताएका छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्नको ढुवानी, दैनिक बिक्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालन गर्नेछ। स्थानीय तहले सङ्कलन गरेका रैथाने बालीहरूको खरिद तथा बजारीकरण गर्ने सहमति भएको छ।
सम्झौतामा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हस्ताक्षर गरेका छन्।