दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई स्वरोजगार बनाउन चार सय उन्नत जातका राँगा वितरण गर्ने कार्यक्रम सुरू गरेको छ। नगरपालिकाले राँगाको मासुमा आत्मनिर्भर बन्न तथा स्थानीय किसानलाई व्यवसायिक पशुपालनमा प्रेरित गर्न रु ६२ लाख बराबरको अनुदानमा आधारित राँगा वितरण कार्यक्रम सञ्चालन गरेको हो। नगरका विभिन्न वडामा क्रमशः राँगा वितरण भइरहेको छ।
नगरपालिकाका अनुसार राँगा खरिद गरिएको कुल मूल्यको ७५ प्रतिशत अनुदान दिइएको छ भने बाँकी २५ प्रतिशत किसान स्वयंले भुक्तानी गर्ने व्यवस्था गरिएको छ। अहिलेसम्म २०० भन्दा बढी राँगा वितरण भइसकेका छन्। बाँकी राँगा क्रमशः किसान समूहलाई हस्तान्तरण गरिनेछ।
नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्य राखेको छ। पशुपालनसँगै मल उत्पादन बढ्ने, तरकारी खेती प्रवर्द्धन हुने र स्थानीय अर्थतन्त्र बलियो बन्ने अपेक्षा गरिएको छ।
यसका साथै, कफी, केरा, किबी, कागती, सुन्तला, चिया तथा तरकारी खेतीलाई समेत व्यावसायिक रूपमा विस्तार गर्ने नीति लिइएको छ। वडा नं ६ नेर्पा र वडा नं १४ बुइपामा १७ लाख कफीका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरिएको छ। नगरपालिकाले स्थानीयस्तरमै कफी प्रशोधन गर्दै बेलायत निर्यात गर्ने योजना बनाएको छ।
किबी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत उत्पादन सुरु भइसकेको छ भने वडा नं ६ नेर्पामा प्रशोधन केन्द्र स्थापना गरी उत्पादित किबी सङ्कलन प्रक्रिया अघि बढाइएको छ। नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्दै वार्षिक रु १२ अर्ब भित्र्याउने लक्ष्य राखेको उपप्रमुख विशन राईले बताएका छन्।