२५ करोड विदेशी मुद्रा बरामद, ट्रकको ‘फल्स बटम’ मा लुकाएर ओसारपसार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2025 | 05:16:44 PM मा प्रकाशित

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले करिब रु २५ करोड २२ लाख ४५ हजार बराबरको विदेशी मुद्रा बरामद गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार उक्त रकमको मूल्यांकन गरिएको हो।

सोमबार बेलुकी टोखा नगरपालिकास्थित झोरबाट पक्राउ गरिएको विदेशी मुद्रा अमेरिकी डलर, युरो लगायत विभिन्न मुद्रा समावेश रहेको प्रहरीले जनाएको छ। ना ७ ख १६५१ नम्बरको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा विशेष ‘फल्स बटम’ बनाई लुकाएर उक्त रकम ओसारपसार गरिएको थियो।

यस प्रकरणमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ४३ वर्षीय ट्रक चालक कुसाङ लामा पक्राउ परेका छन्। प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार यो कारोबार राजस्व छली गरी गैरकानुनी रूपमा विदेशी मुद्रा ओसारपसार गर्न खोजिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

बरामद गरिएको विदेशी मुद्रामा अमेरिकी डलर एक सय दरका तीन हजार ११९ थान, अमेरिकी डलर ५० दरका १७९, युरो ५०० दरका ११ थान, युरो २०० दरका ४८०, युरो १०० दरका चार हजार १४८ थान, युरो ५० दरका १७ हजार १७७ थान रहेका छन् । 

प्रहरीले आज आयोजित पत्रकार सम्मेलनमार्फत बरामद मुद्रा सार्वजनिक गरेको हो। यो घटनालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत राजस्व अनुसन्धान विभागलाई थप अनुसन्धान र कारबाहीको लागि हस्तान्तरण गरिएको छ।

यो घटनाले नेपालमा गैरकानुनी विदेशी मुद्रा कारोबार र तस्करीको संगठित गिरोह सक्रिय रहेको संकेत गरेको छ। प्रहरीले गैरकानुनी रूपमा विदेशी मुद्रा ओसारपसार गर्ने अन्य संलग्न समूहबारे अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved