नेपालमा डिजिटल भुक्तानी प्रविधि तीव्र रूपमा विस्तार भइरहेको छ। प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेको सीमापार यूपीआई भुक्तानी सेवाले एक वर्ष पूरा गर्दा १ अर्ब ६० करोड रुपैयाँ (१२ मिलियन अमेरिकी डलर) भन्दा बढीको कारोबार गरेको छ। भारतीय राष्ट्रिय भुक्तानी निगम (NPCI) को इन्टरनेशनल पेमेन्ट्स लिमिटेडसँगको सहकार्यमा फोनपेले २०२४ मा सीमापार यूपीआई सेवा सुरु गरेको थियो
फेब्रुअरी २०२४ मा यूपीआई एकीकरणपछि नेपालभर ६७ हजार भन्दा बढी व्यापारीहरू डिजिटल भुक्तानीका लागि दर्ता भएका छन्। भारतीय पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि हुँदै १ लाख २७ हजार नाघेको छ। पछिल्लो एक वर्षमा ५.६ लाख कारोबार दर्ता भएका छन्, जसले भारतीय पर्यटकहरूले नगदरहित भुक्तानीलाई व्यापक रूपमा अपनाएको देखाउँछ।
व्यापारिक क्षेत्रतर्फ, खुद्रा पसल (२७%), रेस्टुरेन्ट तथा क्याफे (१९.६८%), होटल तथा रिसोर्ट (१५.४%) प्रमुख छन्। काठमाडौं उपत्यकासहित ठमेल, पोखरा, मुक्तिनाथ, पशुपतिनाथ, र सीमावर्ती शहरहरू यूपीआई भुक्तानीका मुख्य केन्द्रका रूपमा देखिएका छन्।
फोनपेका सीइओ दिवश कुमारका अनुसार, "नेपालमा डिजिटल भुक्तानीको प्रवर्द्धन तीव्र भइरहेको छ। स्क्यान टू पे प्रविधिले नेपाली व्यापारीहरू र भारतीय पर्यटकहरूलाई सहज कारोबारको अनुभव दिएको छ। हाम्रो लक्ष्य नेपालभर यूपीआई स्वीकृति विस्तार गर्दै सीमापार डिजिटल कारोबारलाई नयाँ उचाइमा पुर्याउने हो।"
डिजिटल भुक्तानी सेवा शहरी क्षेत्रदेखि दुर्गम ठाउँहरूसम्म विस्तार भइसकेको छ। डोल्पा, अछाम, र बाजुरा जस्ता स्थानमा समेत यूपीआई भुक्तानी सेवा उपलब्ध गराइएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुक्तिनाथ मन्दिरमा यूपीआई भुक्तानी शुभारम्भ गर्दै डिजिटल नेपाल निर्माणमा यसको भूमिकाबारे जोड दिएका थिए।
फोनपेले आगामी दिनमा सुरक्षा सुदृढ गर्दै डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने योजना बनाएको छ। यूपीआईको सफल एकीकरणले नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अगाडि बढाउने संकेत गरेको छ।