उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग कोरियाली लगानी मूल्याङ्कन टोलीले भेटघाट गरेको छ । भेटका क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले लगानी गरेर रोजगारको श्रृजना सहित मुनाफा आर्जन गर्न आग्रह गरेका छन् । मन्त्री भण्डारीले नेपाल र कोरियाबिचको सम्बन्ध पछिल्ला वर्षहरूमा थप प्रगाढ र सुमधुर बन्दै गएको बताए ।
“सन् १९७४ मा नेपाल र गणतन्त्र कोरियाबिच कूटनैतिक सम्बन्ध स्थापना भएयता दुई देशबिचको सम्बन्ध धेरै घनिष्ठ एवम् मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको छ । हाम्रा दुई देशबिच एवम् जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोगको निरन्तर अभिवृद्धि भइरहेको छ ” उनले भने ।
उनले कोरियाली कम्पनीहरू स्यामसङ इलेकट्रोनिक्स र हुन्डाई मोटर्सले नेपालमा एसेम्बलिङ्ग प्लान्ट स्थापना गरी क्रमशः टिभी सेट र कार उत्पादन गरिरहेको बताए । उद्योग र व्यापारका क्षेत्रमा समेत नेपाल र कोरियाबिचको सम्बन्ध बढ्दै गएको उनको भनाई छ ।मन्त्री भण्डारीले कोरिया नेपालमा वैदेशिक लगानीको एक प्रमुख श्रोत मुलुक रहेको बताए ।
मन्त्री भण्डारीले वर्तमान सरकार विदेशी लगानीकर्ताहरूको लागि नीतिगत स्थिरता र सुरक्षा प्रदान गर्न समर्पित रहेको समेत जनाए । उनले कोरियाली व्यवसायहरूलाई नेपालमा लगानी साझेदारी अन्वेषण गर्न आमन्त्रण समेत गरेका छन् । उनले जलविद्युत, उत्पादन र पर्यटन जस्ता क्षेत्रहरूमा सहकार्यको अपार सम्भावना रहेको स्पष्ट पारे ।
भेटघाटको क्रममा कोरियाली प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।