नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले नेपाल विद्युत प्राधिकरणमाथि औद्योगिक क्षेत्रमा लोडसेडिङको यथार्थ लुकाउँदै झुटको प्रचार गरेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ती संघहरूले प्राधिकरणको "लोडसेडिङ मुक्त" घोषणालाई असत्य, भ्रामक र जनमानसको ध्यान अन्यत्र मोड्ने प्रचारको रूपमा चित्रण गरेका छन्। उनीहरूले औद्योगिक क्षेत्रका उद्योगहरूमा दैनिकजसो लोडसेडिङ भैरहेको भएपनि प्राधिकरणले कुनै पूर्वसूचना नदिएको र तालिका समेत सार्वजनिक नगरेकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
संघहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, "२०७५ सालको वैशाख ३१ मा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भएको घोषणा गर्दा उद्योगी तथा आम जनता खुशी भएका थिए। तर त्यो घोषणा व्यवहारमा लागू नहुँदो रहेछ, केवल जनतालाई भ्रममा पार्ने एक प्रपञ्च मात्र रहेछ।"
उद्योगी संघहरूले औद्योगिक क्षेत्रका लागि विद्युत आपूर्तिमा विश्वसनीयता र पारदर्शिता नहुँदा उत्पादनमा अस्थिरता, लागत वृद्धी र प्रतिस्पर्धात्मक क्षमतामा गिरावट आएको बताएका छन्। उद्योग चलिरहेका समयमा एक्कासि विद्युत जाने, सूचना नआउने र वैकल्पिक उपायको पनि समय नपाउने अवस्था दोहोरिएको उनीहरूको भनाइ छ।
संघहरूले प्राधिकरणसँग औद्योगिक क्षेत्रका लागि पृथक लोडसेडिङ तालिका सार्वजनिक गर्न, विद्युत आपूर्ति व्यवस्थित गर्न र औद्योगिक उत्पादन प्रणालीमैत्री नीति अवलम्बन गर्न माग गरेका छन्।
नेपालको औद्योगिक विकासका लागि स्थिर र पूर्वानुमानयोग्य विद्युत आपूर्ति अनिवार्य रहेको भन्दै उनीहरूले राज्य पक्ष गम्भीर नबने उद्योगहरू संकटमा पर्ने चेतावनी दिएका छन्।